काठमाडौं । मनसुन सक्रिय भई बागमती प्रदेशलगायतका क्षेत्रमा लगातार तीव्र वर्षा भइरहेकाले ललितपुरको कान्ति लोकपथमा अर्को सूचना नआएसम्मका लागि सबै प्रकारका सवारीसाधनको आवागमन पूर्ण रूपमा रोकिएको छ। जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार भारी वर्षाको सम्भावना भएकाले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सिफारिसमा जिल्ला प्रशासन कार्यालय ललितपुरले यस्तो निर्णय लिएको हो।
जारी सूचनामा सहायक प्रमुख जिल्ला अधिकारी गीता घिमिरेले यात्रुहरू र सर्वसाधारणलाई सतर्कता अपनाउन, अनावश्यक यात्रा नगर्न र वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेकी छन्। सुरक्षाका दृष्टिकोणले गरिएको यो निर्णय पुनः समीक्षा नहुन्जेलसम्म लागू रहनेछ।

