काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था तथा शहरी विकासमन्त्री कुलमान घिसिङले नेपाल विद्युत् प्राधिकरण मातहतको स्युचाटारस्थित विद्युत् भार प्रेषण केन्द्रको अनुगमन गर्नुभएको छ। निरीक्षणका क्रममा मन्त्री घिसिङले देशभरको विद्युत् उत्पादन, प्रसारण, वितरण प्रणाली, विद्युत् ग्रिडको सञ्चालन, माग र आपूर्ति व्यवस्थापन, निर्यातको स्थिति तथा बाढी–पहिरोबाट क्षति पुगेका आयोजनाबारे जानकारी लिनुभयो।
हाल देशका विभिन्न स्थानमा बत्ती जाने गुनासो बढ्दै गएको जनाउँदै मन्त्री घिसिङले विद्युत् प्रणालीलाई भरपर्दो, सुरक्षित र आधुनिक बनाउने लक्ष्यसहित अल्पकालीन, मध्यकालीन र दीर्घकालीन नीतिगत तथा प्रविधिक सुधार आवश्यक रहेको धारणा राख्नुभयो। उहाँले बाढीपहिरोबाट क्षति भएका संरचनाको तत्काल मर्मत गरी सेवा पुनः सञ्चालनमा ल्याउन र भोल्टेज उतारचढावको समस्या समाधानलाई प्राथमिकता दिन मातहत निकायहरूलाई निर्देशन दिनुभयो।
मस्र्याङ्दी करिडोरअन्तर्गत २२० केभी प्रसारण लाइन तथा हेटौंडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको निर्माणमा विशेष ध्यान दिनुपर्ने र आगामी हिउँदयामको विद्युत् माग व्यवस्थापनका लागि अग्रिम तयारी गर्नुपर्नेमा मन्त्री घिसिङले जोड दिनुभयो।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवाल र केन्द्र निर्देशक चन्दनकुमार घोषले निरीक्षण टोलीलाई वर्तमान विद्युत् आपूर्ति, प्रणाली सञ्चालन र चुनौतीहरूबारे जानकारी गराउनुभयो। कार्यकारी निर्देशक सिलवालले बाढी–पहिरोले क्षति पुर्याएका संरचनाको मर्मतका लागि प्राविधिक टोलीहरू तयारी अवस्थामा रहेको जानकारी दिनुभयो।
विद्युत् निर्यातका सन्दर्भमा सिलवालले चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि हालसम्म १५ अर्ब रुपैयाँ बराबरको विद्युत् निर्यात भइसकेको जानकारी दिनुभयो। हाल दैनिक झन्डै १,००० मेगावाट विद्युत् देशभित्रको खपतपछि भारत र बंगलादेशमा निर्यात भइरहेको छ। भारतको डे–अहेड र रियल टाइम ऊर्जा बजार, साथै हरियाणा र बिहार राज्यमा द्विपक्षीय सम्झौताअनुसार विद्युत् बिक्री भइरहेको छ।
त्यसैगरी, भारतको प्रसारण प्रणाली प्रयोग गरी बंगलादेशमा पनि दैनिक ४० मेगावाट विद्युत् निर्यात भइरहेको छ। भारतसँगको व्यापार भारतीय रुपैयाँमा र बंगलादेशसँगको व्यापार अमेरिकी डलरमा हुने भएकाले नेपालले दुबै मुद्रामा आम्दानी गरिरहेको छ। प्राधिकरणले हालसम्म १,१६५ मेगावाट विद्युत् निर्यात गर्ने स्वीकृति प्राप्त गरिसकेको छ।

