रिट सुनुवाइबारे परामर्शमा सर्वोच्च

Published on

काठमाडौं । सर्वोच्च अदालतले रिट निवेदनको नियमित सुनुवाइ प्रक्रिया प्रारम्भ गर्न परामर्श थालेको छ । इजलास र मिसिल व्यवस्थापन नभएसम्म नियमित सुनुवाइमा फर्कन नसकेको अवस्थामा रिट निवेदन सुनुवाइको परामर्श अदालतले गरेको हो ।

जेनजी आन्दोलनका क्रममा भवन तथा मिसिल जलेपछि अदालतमा करिब एक महिनादेखि नियमित सुनुवाइ हुन सकेको छैन । प्राङ्गणमा पाल हालेर इजलास स्थापना गरेर बन्दीप्रत्यक्षीकरणका निवेदनको सुनुवाइ मात्र अदालतले गरिरहेको छ । भदौ २९ गतेबाट प्राङ्गणमा इजलास खडा गरेर बन्दीका मुद्दा दर्ता र सुनुवाइ अदालतले सुरु गरेको थियो ।

सर्वोच्चका न्यायाधीशहरूको मङ्गलबारको पूर्ण बैठक ९फुलकोर्ट० ले रिट सुनुवाइबारे सरोकारवालासँग परामर्श गर्ने निर्णय गरेको हो । मुद्दाको नियमित सुनुवाइ भने छठपछि मात्र गर्ने सर्वोच्चको तयारी छ । इजलास व्यवस्थापनका लागि समय लाग्ने भएकाले नियमित सुनुवाइ तत्काल सुरु नहुने अदालत स्रोतले बतायो ।

रिट दर्ता र सुनुवाइबारे फुलकोर्टले बिहीबार सरोकारवालासँग परामर्श गर्ने छ । महान्यायाधिवक्ता सविता भण्डारी तथा चार जना नायब महान्यायाधिवक्तालाई अदालतले छलफलका लागि बोलाएको छ । यस्तै नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनलाई पनि परामर्शमा बोलाउने फुलकोर्टले निर्णय गरेको छ । उपत्यकाका अन्य बार इकाइका अध्यक्ष र सचिवलाई पनि छलफलमा आमन्त्रण गरिने सर्वोच्च स्रोतले बतायो ।

रिट निवेदनको सुनुवाइ र त्यसको व्यवस्थापन कसरी गर्ने भन्नेमा अदालत निचोडमा नपुगेपछि सरोकारवालासँगको समेत परामर्शमा निर्णय गर्न लागिएको हो । जेनजी आन्दोलनका क्रममा सर्वोच्चका ८० प्रतिशत हाराहारीमा मिसिल जलेका छन् । मूल भवन पूर्ण रूपमा क्षतिग्रस्त भएपछि इजलाससमेत छैनन् । अदालतले बन्दीप्रत्यक्षीकरणबाहेकका अन्य निवेदन दर्तासमेत गरेको छैन । आन्दोलनका क्रममा देशभरका २३ वटा अदालतमा क्षति पुगेको छ । क्षति पुगेका अदालतमा भौतिक पूर्वाधार व्यवस्थापनसँगै मिसिल प्राप्तिका लागि पनि प्रक्रिया अघि बढिसकेको छ ।

व्यवस्थापन हुँदै इजलास

छठलगत्तै नियमित रूपमा मुद्दा सुनुवाइको तयारीमा रहेको अदालतलाई सो अवधिसम्म कम्तीमा दस वटा इजलास व्यवस्थापन हुने भएका छन् । अहिले सर्वोच्चको एनेक्स भवनमा रहेको दुई इजलास करिब तयार भइसकेका छन् । एनेक्स भवनमै थप दुई वटा इजलास तिहारसम्म तयार हुने छन् । यस्तै सर्वोच्चकै लागि बनिरहेको नविनिर्मित भवनमा समेत तिहारसम्म छ वटा इजलास बनाएर हस्तान्तरण गर्ने निर्माण कम्पनीले अदालत प्रशासनलाई प्रतिबद्धता जनाएको छ । नयाँ भवनको भुइँ तलामै कर्मचारीलाई कार्यकक्ष व्यवस्थापन भइसकेको छ । कर्मचारीले नयाँ भवनबाट काम सुरु गरेका छन् ।

नयाँ भवनमा छ वटा इजलास व्यवस्थापन भएमा एनेक्ससमेत गरी दस वटा इजलास हुने छन् । सर्वोच्चमा सामान्यतया दैनिक दस वटा इजलास चल्ने गरेका थिए । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...