काठमाडौं, कात्तिक १ — अपहरण तथा शरीर बन्धक बनाएर फिरौती माग्ने कार्यमा संलग्न दुई जना भारतीय नागरिकलाई नेपाल प्रहरीले पक्राउ गरेको छ।
पक्राउ परेका व्यक्तिहरूमा भारत, पञ्जाबका २४ वर्षीय परमप्रीत सिंह र २८ वर्षीय लवप्रीत सिंह छन्। उनीहरूले भारत, हरियाणाका २६ वर्षीय अङ्कित कुमारलाई झुक्याएर अष्ट्रेलिया लैजाने बहानामा नेपाल ल्याई बन्धक बनाएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईका अनुसार पीडितलाई काठमाडौंको सुन्धारास्थित होटल न्यू जोमसोमको कोठा नं ६ मा बन्धक बनाइएको थियो। त्यहाँबाट रु २० लाख फिरौती मागिएको सूचनाका आधारमा शुक्रबार उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
पक्राउ परेकाहरूको साथबाट विभिन्न कम्पनीका चार थान मोबाइल फोन बरामद गरिएको प्रहरीको भनाइ छ। जिल्ला अदालत काठमाडौंबाट सात दिनको म्याद थप गरी हाल घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी प्रवक्ता भट्टराईले दिनुभयो।

