८० दिनपछि संखुवासभाको भोटखोला सडकसँग पुनः जोडियो

Published on

काठमाडौं , कात्तिक २ — संखुवासभाको दुर्गम भोटखोला गाउँपालिका ८० दिनपछि पुनः सडकसँग जोडिएको छ। लगातारको पहिरोका कारण अवरुद्ध भएको खाँदबारी–किमाथाङ्का सडक खण्ड सञ्चालनमा आएको हो।

भदौ १५ गतेदेखि भोटखोला–३ स्थित समटार र अल्फाटे क्षेत्रमा गएको ठूलो पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो। कठिन भूगोल, निरन्तर वर्षा र जोखिमका बीच लामो प्रयासपछि सडक सञ्चालनमा ल्याइएको उत्तर–दक्षिण कोशी राजमार्ग आयोजनाले जनाएको छ।

आयोजनाका प्रमुख रामबहादुर गुरुङका अनुसार स्थानीयवासी, निर्माण व्यवसायी र आयोजनाको संयुक्त प्रयासमा सडक मर्मत सफल भएको हो। “लगातारको वर्षाले काममा ढिलाइ भयो। तर करिब ८० दिनको प्रयासपछि सडक सञ्चालनमा ल्याउन सकिएको छ,” उहाँले बताउनुभयो।

हाल सडकमा ढुङ्गा सोलिङ र ग्राभेलिङ कार्य सम्पन्न भइसकेको छ र एकतर्फी सवारी सञ्चालन भइरहेको छ। सडक खुलेसँगै वरुण नदीमाथिको पक्की पुलमार्फत सवारी आवागमन सुरु भएको छ।

पहिरोले जनजीवन कष्टकर

सडक अवरुद्ध रहँदा भोटखोला, मकालु लगायतका दुर्गम क्षेत्रका बासिन्दा बजार आपूर्ति, औषधि, निर्माण सामग्री र अन्य दैनिक उपभोग्य वस्तुको अभावमा परेका थिए। आवतजावतका लागि स्थानीयहरूलाई पैदल यात्रा गर्नुपर्ने बाध्यता थियो।

सडक पुनः सञ्चालनमा आएपछि खाँदबारीदेखि भोटखोलाको हटिया र थोगाङ खोला क्षेत्रसम्म सवारीसाधन चल्न सक्ने आयोजनाले जनाएको छ।

भोटखोला गाउँपालिकाका अध्यक्ष वाङछेदर भोटेका अनुसार सडक पुनः सञ्चालनले स्थानीयवासीमा खुसी छाएको छ। “अब दुर्गम बस्ती फेरि सडकसँग जोडिएका छन्,” उहाँले भन्नुभयो, “सडकको संरक्षण र मर्मतमा स्थानीयस्तरबाट पनि सक्रिय भूमिका खेलिनेछ।”

व्यापारिक र रणनीतिक महत्व

कोशी राजमार्ग पूर्वी नेपालको प्रमुख रणनीतिक र व्यापारिक मार्ग हो, जसले चीनको सीमा किमाथाङ्कासम्म जोड्ने लक्ष्य राखेको छ। सडक सुचारु भएपछि व्यापारिक गतिविधि, आपूर्ति प्रणाली र जनजीवन सहज हुने अपेक्षा गरिएको छ।

spot_img

ताजा समाचार

तेहरानभरि सैन्य लक्ष्यमा आक्रमण तीव्र

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग ‘चाँडै’ सम्झौता हुन सक्ने सङ्केत दिनुभएकै भोलिपल्ट...

तीस दिनभित्रै मुख्य खाद्यान्न बालीको मूल्य निर्धारण गरिने

काठमाडौं । सरकारले ३० दिनभित्र प्रमुख खाद्यान्न बालीको न्यूनतम् समर्थन मूल्य निर्धारण प्रक्रिया सुरु...

मकवानपुरमा २१८ जनामा डेङ्गु सङ्क्रमण

काठमाडौं । मकवानपुर जिल्लामा चालु आर्थिक वर्षको साउन १ गतेदेखि चैत १५ गतेसम्म २१८...

लेबननमा शान्ति सैनिकको मृत्यु, संयुक्त राष्ट्रसङ्घद्वारा निन्दा

काठमाडौं । लेबननमा रहेको संयुक्त राष्ट्रसङ्घको शान्ति बलले सोमबार एक शान्ति सैनिकको मृत्यु भएको...