राप्तीमा पुल नहुँदा डुङ्गामा जोखिमपूर्ण यात्रा

Published on

काठमाडौं ।  बाँकेका तीन वटा गाउँपालिकाका स्थानीय बासिन्दा वर्षौदेखि ज्यान जोखिममा हालेर डुङ्गामा राप्ती नदी वारपार गर्न बाध्य छन् ।  

राप्तीसोनारी, डुडुवा र नरैनापुर गाउँपालिकाका धेरै किसानको डुडुवातर्फ खेती भएकाले अधिकांशले नदी पार गर्नुपर्ने हुन्छ । अर्कोतर्फ सीमापारी भारतीय बजार र सदरमुकाम नेपालगन्ज पुग्न छिटो हुने भएकाले पनि तीन पािलकाका स्थानीयले डुङ्गाको प्रयोग गर्ने गरेका हुन् ।

राप्तीसोनारी ७ का ७० वर्षीय दुर्गाप्रसाद पाण्डेले राप्ती नदीको पिप्रहवाघाटमा पुल निर्माणका लागि वर्षौदेखि माग गर्दै आएकोमा आश्वासन बाहेक हालसम्म केही पनि नपाएको दुखेसो गर्नुभयो । उहाँले वर्षाको बेला बाढीका कारण पटक–पटक डुङ्गा दुर्घटना भई धेरै स्थानीयले ज्यान गुमाए पनि हालसम्म सरकारको ध्यान नगएकोमा चिन्ता प्रकट गर्नुभयो ।

पाण्डेका अनुसार पिप्रहवाघाटमा करिब चार दशकअघि धेरैजनाको ज्यान जाने गरी डुङ्गा दुर्घटना भएको थियो । करिब एक सयजना सवार डुङ्गा दुर्घटनामा परेकोमा धेरैजनाको निधन तथा बेपत्ता भएको उहाँले स्मरण गर्नुभयो ।

राप्तीसोनारी गाउँपालिका र नरैनापुर गाउँपालिकाबाट डुडुवा गाउँपालिका जोड्ने राप्ती नदीको पिप्रहवाघाटमा तत्कालै पुल निर्माणको प्रक्रिया अगाडि बढाउन स्थानीय बासिन्दाले सरकारलाई फेरि गुहारेका छन् ।

नरैनापुर ५ का सन्जय दिक्षितले विगतमा नेता र मन्त्रीहरुले आश्वासन मात्रै दिए तर अहिले देशमा भएको परिवर्तनका कारण स्थानीयमा पुल बन्ने आशा पलाएकाले फेरि मागलाई उठाइएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “पारि खेतबारी, वारि घर, बिचमा विशाल राप्ती नदी छ । वर्षामा उर्लेर आउने राप्ती पार गर्न सानो डुङ्गा बाहेक कुनै विकल्प छैन, त्यसैले ज्यान जोखिममा हालेर डुङ्गाबाट नदी वारपार गर्दै आएका छौं ।”

राप्ती सोनारी, नरैनापुर र डुडुवा गाउँपालिकाका धेरै बासिन्दाको खेत नदी पारी रहेको छ । खेत नदी पारी भएकाले पनि नदी पार गर्नै पर्ने बाध्यता रहेको खल्ला झगडियाका अरुण यादवले बताउनुभयो । उहाँले तटीय बस्तीका बासिन्दाको सुरक्षित यात्राप्रति सरकारले चासो नदिएको गुनासो गर्दै यस क्षेत्रका जनताले कहिलेसम्म यो दुःख पाइरहने हुन् केही भन्न नसकिने बताउनुभयो ।

नदीमा पिप्रहवा, सतीघाट, बालपूर्वासहित तीन वटा घाट छन् । जहाँ वारपार गर्न सानो डुङ्गा राखिएका छन् । १० वर्षदेखि डुङ्गा चलाउँदै आउनु भएका माझी गुड्डु मल्लाहले नदी तर्दातर्दै तीव्र गतिमा उर्लेर आउने बाढीले डुङ्गा बगाउँदा धेरै पटक जीवन जोखिममा परेको स्मरण गर्नुभयो । उहाँले नदी वारपारको यो यात्रा अत्यधिक जोखिमपूर्ण रहेकोले छिटोभन्दा छिटो पुल निर्माण अपरिहार्य भएको बताउनुभयो ।गोरखापत्र

spot_img

ताजा समाचार

तेहरानभरि सैन्य लक्ष्यमा आक्रमण तीव्र

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग ‘चाँडै’ सम्झौता हुन सक्ने सङ्केत दिनुभएकै भोलिपल्ट...

तीस दिनभित्रै मुख्य खाद्यान्न बालीको मूल्य निर्धारण गरिने

काठमाडौं । सरकारले ३० दिनभित्र प्रमुख खाद्यान्न बालीको न्यूनतम् समर्थन मूल्य निर्धारण प्रक्रिया सुरु...

मकवानपुरमा २१८ जनामा डेङ्गु सङ्क्रमण

काठमाडौं । मकवानपुर जिल्लामा चालु आर्थिक वर्षको साउन १ गतेदेखि चैत १५ गतेसम्म २१८...

लेबननमा शान्ति सैनिकको मृत्यु, संयुक्त राष्ट्रसङ्घद्वारा निन्दा

काठमाडौं । लेबननमा रहेको संयुक्त राष्ट्रसङ्घको शान्ति बलले सोमबार एक शान्ति सैनिकको मृत्यु भएको...