काठमाडौं । बैतडीको पाटन नगरपालिका–६ सुकेलीका करिब ५८ वर्षीय प्रेमसिंह बिष्टको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार बिष्ट बिहीबार दिउँसो घरबाट सिउडे जाँदै गर्दा दुर्घटनामा परेका हुन्। उनी अबेरसम्म घर नफर्केपछि परिवारले इलाका प्रहरी कार्यालय पाटनमा खबर गरेका थिए।
खोजीका क्रममा दशरथचन्द राजमार्गअन्तर्गत पाटन नगरपालिका–४ अन्नाडी मोड नजिक सडकबाट करिब १०० मिटर तल बिष्टको शव फेला परेको प्रहरी निरीक्षक तथा कार्यालयका प्रवक्ता बल्देव बडूले जानकारी दिए।
घटनास्थलमै बिष्टले चलाएको सुप–प्र ०१–०११ प ७१५१ नम्बरको मोटरसाइकल पनि सडकबाट तल खसेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।
मृतकको शव पोस्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा राखिएको छ भने घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

