काठमाडौं । कास्कीको पोखरा महानगरपालिका–५ पस्र्याङमा शुक्रबार राति भएको विवादका क्रममा एक जनाको चक्कु प्रहार गरी हत्या भएको छ। घटनामा संलग्न आरोपमा पोखरा–१८ सराङकोट घर भई हाल मालेपाटन बस्ने २४ वर्षीय किशोर तिमिल्सिनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। मृतक ४४ वर्षीय अनिल पराजुली सोही क्षेत्रका बासिन्दा हुन्।
शनिबार बिहान करिब ३ बजेतिर पोखरा–५ चिल्डेल पार्कनजिक पराजुली अचेत अवस्थामा फेला परेपछि वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले उनलाई उद्धार गरी उपचारका लागि पश्चिम क्षेत्रीय अस्पताल पठाएको थियो। तर, पौने ४ बजेतिर चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतका अनुसार तिमिल्सिना र पराजुलीबीच सामान्य विवाद हुँदा चक्कु प्रहार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनाको डेढ घन्टापछि तिमिल्सिनालाई प्रहरीले नियन्त्रणमा लिएर घटनामा प्रयोग गरिएको चक्कु समेत बरामद गरेको जनाएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

