पर्यटकले बागलुङका होटल भरिभराउ

Published on

काठमाडौं । पश्चिम नेपाल र मुस्ताङ घुम्न जाने पर्यटकहरुको कारण बागलुङका होटलहरु भरिभराउ भएका छन् । दशैं, तिहार र छठजस्ता पर्वको अवसर पारेर बागलुङ आएका आन्तरिक पर्यटकका कारण यहाँका होटल तथा लजहरू भरिभराउ भएका हुन् । देशका विभिन्न ठाउँबाट आएका पर्यटकले बागलुङ बजार, गलकोट बजार, बुर्तिबाङ बजारमा भिड बढेपछि होटल व्यवसायीहरू उत्साहित छन् ।

मुख्य तीन पर्वको बिदाको अवसर पारेर घुम्नआएका आन्तरिक पाहुनाले होटल भरिभराउ भएको होटल व्यवसायी तथा होटल सितलका सञ्चालक तालबहादुर कुँवरले बताउनुभयो । “दशैंपछि पाहुनाको चाप बढेको छ, अहिले त कोठा खाली छैनन्” कुँवरले भन्नुभयो, “केही दिनसम्मका लागि कोठाहरु अग्रिम बुकिङ भएका छन् । बागलुङ बजारका ठूला होटलदेखि साना गेस्ट हाउससम्ममा कोठा अभाव हुन थालेको छ ।”

शुक्रबार बागलुङ बजारमा होटलका कोठामा ठाउँ नभएपछि होटलको हलमा पाहुनालाई राखिएको होटल व्यवसायी संघ बागलुङका अध्यक्ष तथा होटल पिस प्यालेसका सञ्चालक निलेश राजभण्डारीले बताउनुभयो । बागलुङमा मुस्ताङ जाने मात्र नभइ पश्चिम नेपाल जाने पर्यटकहरुको संख्यामा पनि बृद्धि भएको उहाँको भनाइ छ । 

“मुस्ताङ केही समयको लागि मात्र घुम्न जाने पर्यटकहरु यहाँ आउनुहुन्छ । अब मुस्ताङमा चिसो बढेपछि पर्यटकहरुको संख्यामा पनि कमी हुन्छ” राजभण्डारीले भन्नुभयो, “अहिले बागलुङ हुँदै सेफोक्सेन्डो, रारा ताल, रुकुम कोटलगायत पश्चिम नेपाल घुम्न जाने पर्यटकहरुको संख्या बढ्दो छ । त्यसले बागलुङका होटलमा पनि पाहुनाको संख्या बढ्दो छ ।”

राष्ट्रिय गौरवका दुई राजमार्ग मध्यपहाडी लोकमार्ग र कालिगण्डकी करिडोरले जोडिएको जिल्ला बागलुङ भएकाले पश्चिम नेपाल र मुस्ताङ घुम्न जाने पर्यटकहरु बागलुङमा एक रात बास बसेर जाने गरेको होटल व्यवसायी राजभण्डारीले बताउनुभयो । 

“पहिले पर्यटन सिजनमा मुस्ताङ आउने जाने पर्यटक होटल अभावकै कारणसमेत बागलुङ बस्न आउने गरेका थिए” अध्यक्ष राजभण्डारीले भन्नुभयो, “अहिले सडक सञ्जाल सुधार भएकाले एक दिन बागलुङ बास बसेर अर्को दिन जोमसोम वा मुक्तिनाथ बास बस्न जाने पर्यटकहरु पनि भेटिन्छन् । अहिले मुस्ताङभन्दा बागलुङकै ढोरपाटन, पश्चिम नेपालको रुकुमकोट, रारा ताल, सेफोक्सेन्डो तालहरुमा घुम्न जाने पर्यटकहरु बागलुङको बाटो हुँदै जाने धेरै पाहुना बागलुङ बस्नु हुन्छ ।”

राजभण्डारीले शुक्रबार मात्र आफ्नो होटलमा पश्चिम नेपाल घुम्न जाने ३० जना बाइकर्सहरु बास बसेको बताउनुभयो । “अहिले सबै कोठा भरीभराउ छन्” उहाँले भन्नुभयो, “शुक्रबार सबै कोठा भरिएका थिए । पाहुनाहरु कोठा खोज्दै आउनुभयो । उहाँहरुले जसरी पनि बास दिन अनुरोध गरेपछि हलमा राख्न बाध्य भए ।” 

जिल्लामा आकर्षक गन्तव्यस्थलका रुपमा रहेका नेपालका १०० पर्यटकीय गन्तव्यको सूचीमा समावेश प्रसिद्ध बागलुङ कालिका भगवती मन्दिर र सर्वसिद्धिधाम पञ्चकोटमा नयाँ संरचना निर्माण गरेसँगै आन्तरिक पर्यटक जिल्ला भित्रिन थालेका हुन् । 

हाल मौसम अनुकल र सडक सञ्जाल सुधारिँदै गएको कारण बागलुङको ढोरपाटन, कालिका भगवती मन्दिर, सर्वसिद्धिधाम पञ्चकोट लगायतका पर्यटकीय ठाउँमा घुम्न आउने आन्तरिक पर्यटकहरुको संख्या समेत वृद्धि हुँदै गएको स्थानीय पर्यटन व्यवसायीको भनाइ छ ।

बागलुङ बजारमा करिब २५–३० होटलले करिब १ हजार पाहुनालाई सेवा दिन सक्ने क्षमता राखे पनि पर्यटक आगमन बढेपछि सेवा दिन कठिनाइ भएको होटल व्यवसायी तालबहादुर कुँवरले बताउनुभयो ।गोरखापत्र

spot_img

ताजा समाचार

तेहरानभरि सैन्य लक्ष्यमा आक्रमण तीव्र

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग ‘चाँडै’ सम्झौता हुन सक्ने सङ्केत दिनुभएकै भोलिपल्ट...

तीस दिनभित्रै मुख्य खाद्यान्न बालीको मूल्य निर्धारण गरिने

काठमाडौं । सरकारले ३० दिनभित्र प्रमुख खाद्यान्न बालीको न्यूनतम् समर्थन मूल्य निर्धारण प्रक्रिया सुरु...

मकवानपुरमा २१८ जनामा डेङ्गु सङ्क्रमण

काठमाडौं । मकवानपुर जिल्लामा चालु आर्थिक वर्षको साउन १ गतेदेखि चैत १५ गतेसम्म २१८...

लेबननमा शान्ति सैनिकको मृत्यु, संयुक्त राष्ट्रसङ्घद्वारा निन्दा

काठमाडौं । लेबननमा रहेको संयुक्त राष्ट्रसङ्घको शान्ति बलले सोमबार एक शान्ति सैनिकको मृत्यु भएको...