२० वर्षअघि भएको हत्या आरोपमा एक पक्राउ

Published on

काठमाडौं ।  म्याग्दीमा २० वर्ष अघि भएको एक हत्या घटनामा संलग्न भएको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको । जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार २०६२ साल असोज ६ गते राति बेनी नगरपालिका-६ (साविक अर्थुङ्गे-८) माझखेतका ६५ वर्षीय कर्णबहादुर घर्ती क्षेत्रीको हत्यामा संलग्न कृष्ण भन्ने ठहरबहादुर घर्ती क्षेत्रीलाई प्रहरीले पक्राउ गरी आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।  बेनी नगरपालिका वडा ६ जरबुटा बस्ने वर्ष ४३ का घर्तीलाई गोप्य सूचनाको आधारमा यही कात्तिक ७ गते बेलुका ९ बजेको समयमा निजकै घरमा लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिनुभयो । पक्राउ परेका घर्तीले प्रहरी समक्ष हत्यामा आफू संलग्न भएको स्वीकार गरेको उहाँले बताउनुभयो । 

तत्कालीन समयमा घरको पिँढीमा सुतिरहेको अवस्थामा टाउकोमा दाउराको चिर्पटले प्रहार गरी कर्णबहादुरको हत्या गरिएको थियो । सो क्रममा उहाँको श्रीमती ६० वर्षीय इन्द्रकुमारी घर्ती क्षेत्रीलाई पनि प्रहार गरी गम्भीर घाइते बनाई सुनका गरगहना लुटिएको प्रहरीको घटना विवरणमा उल्लेख छ ।  उक्त घटनामा संलग्न रहेको आशङ्कामा प्रहरीले मृतकका आफन्त ठहरबहादुरलाई खोजी गर्दै आएको थियो । ठहरबहादुर हत्या घटनापछि गाउँबाट भागेर अन्यत्र गएका थिए ।  ठहरबहादुर २०५९ पुस महिनादेखि जबरजस्ती करणी मुद्दामा अदालतबाट १० वर्ष कैद सजाय भई ८ वर्ष ९ महिना ५ दिन कैद बाँकी हुँदा २०६० सालमा तत्कालीन नेकपा माओवादीले बेनी आक्रमणका क्रममा म्याग्दी कारागारबाट भागेर फरार भएका थिए । कारागारबाट फरार भएका ठहरबहादुरले २०६२ असोज ६ गते राती आफन्त पर्ने कर्णबहादुरको हत्या गरेको प्रहरीको भनाइ छ । 

हत्या घटनापछि ठहरबहादुर भारतको मुम्बईमा पाँच वर्ष बसेको पाइएको अनुसन्धानका क्रममा खुलेको छ । त्यसपछि पोखरामा कान्छी श्रीमतीसँग बस्दै विभिन्न ठाउँमा ज्यामी र मिस्त्रीको काम गरेर लुकीबसेको अनुसन्धानका क्रममा पत्ता लागेको  प्रहरी नायब उपरीक्षक थापाले बताउनुभयो । प्रारम्भिक अनुसन्धानमा ठहरबहादुरले अपराध स्वीकार गरेको उहाँले जानकारी दिनुभयो ।  प्रहरीका अनुसार मृतक र मृतककी श्रीमतीसँग  काम गरेपछि थप पैसा माग्दा ‘जेलमा सड्ने मान्छेले पैसा किन माग्छस्’ भन्दै हाँसेपछि रिसमा आएर राति गएर दाउराले प्रहार गरी हत्या गरेको अनुसन्धानका क्रममा खुलेको प्रहरीको भनाइ छ ।  प्रहरीले हत्यामा संलग्नलाई मुलुकी अपराध संहिता २०७४ बमोजिम ज्यानसम्बन्धी कसुरमा म्याग्दी जिल्ला अदालतबाट १० दिनको म्याद लिई थप अनुसन्धान अघि बढाइएको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...