काठमाडौं । कर्णाली राजमार्गअन्तर्गत खाँडाचक्र नगरपालिका–२ सेरीघाटमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। जुम्लाबाट सुर्खेततर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख १११५ नम्बरको बस सेरीघाट पुल नजिकै मोडमा अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ।
प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक गोबिन्द प्रसाद चौधरीका अनुसार दुर्घटनामा तीन जना घाइते भएका थिए। उनीहरूलाई तत्काल उद्धार गरी जिल्ला अस्पताल कालीकोट पठाइएको थियो। उपचारका क्रममा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा जुम्ला जिल्लाको हिमा गाउँपालिका–४ का १९ वर्षीय अर्जुन बुढा रहेका छन्। त्यसैगरी, जुम्लाको सिँजा गाउँपालिका–५ की २३ वर्षीय रन्जिता रोकाया र उहाँका पाँच वर्षीय छोरा उपेन्द्र रोकाया घाइते भएका छन्। उनीहरू दुवैको अहिले जिल्ला अस्पताल कालीकोटमा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनाको समयमा बसमा २४ जना यात्रु सवार थिए। अन्य यात्रु सकुशल रहेका छन्।गोरखापत्र

