गाजामा इजरायली आक्रमण : बालबालिकासहित ६० को मृत्यु

Published on

काठमाडौं । गाजामा रातभर इजरायली हवाई आक्रमणमा कम्तीमा ६० जना नागरिकको ज्यान गएको छ । मारिनेमा बालबालिका र महिलाहरू पनि छन् । स्थानीय अस्पतालका अधिकारीहरूले बुधबार जानकारी दिँदै यो घटनालाई यस महिनाको सुरुदेखि लागू भएको नाजुक युद्धविरामका लागि सबैभन्दा गम्भीर चुनौती भएको बताएका छन् ।

यो घटनापछि गाजामा पुनः तनाव चर्किएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासले युद्धविराम उल्लङ्घन गरेको आरोप लगाउँदै गाजामा ‘शक्तिशाली आक्रमण’ गर्न सेनालाई निर्देशन दिनुभएको थियो । उक्त निर्देशनपछि रातभर गाजाका विभिन्न क्षेत्रमा तीव्र बमबारी गरिएको थियो । प्रतिक्रियामा हमासले अर्को बन्धकको शव हस्तान्तरणमा ढिलाइ गर्ने चेतावनी दिएको छ ।

मध्य गाजाको देइर अल–बालाहस्थित अल–अक्सा अस्पतालमा इजरायली हवाई आक्रमणपछि तीन महिला र छ बालबालिकासहित कम्तीमा १० जनाको शव ल्याइएको अस्पतालको स्रोतले जनाएको छ । दक्षिणी गाजाको खान युनुसस्थित नासेर अस्पतालमा पाँचवटा हवाई आक्रमणपछि २० शव पुर्‍याइएको थियो, जसमा १३ बालबालिका र दुई महिला थिए ।

त्यसैगरी, मध्य गाजाको अर्को अस्पताल अल–अवदामा ३० वटा शव ल्याइएको छ । तीमध्ये १४ जना बालबालिका रहेको पुष्टि गरिएको छ । घाइतेहरूको ठूलो भीडका कारण अस्पतालहरूमा उपचारका साधनहरू अभाव भएको चिकित्सकहरूले बताएका छन् ।

इजरायली पक्षका एक अधिकारीका अनुसार दक्षिणी गाजामा इजरायली सेनामाथि गोली प्रहार भएको घटनापछि नेतान्याहुले आक्रमणको आदेश दिनुभएको हो । सो आक्रमण सोमबार हमासले एउटा बन्धकको ‘आंशिक अवशेष’ हस्तान्तरण गरेपछि भएको जनाइएको छ । इजरायलले ती अवशेष युद्धको सुरुआती चरणमा अपहरणमा परेका आफ्ना नागरिकका भएको दाबी गरेको छ ।

संयुक्त राज्य अमेरिकाले स्थिति नियन्त्रणमा ल्याउन कूटनीतिक पहल थालेको छ । अमेरिकी उपराष्ट्रपति जेडी भान्सले ‘हिंसात्मक झडपहरू चाँडै अन्त्य हुने’ आशा व्यक्त गर्नुभएको छ । तर गाजामा भइरहेका निरन्तर आक्रमण र तीव्र हताहतीका घटनाले युद्धविराम पुनः जोखिममा परेको विश्लेषकहरूको ठम्याइ छ ।

दर्जनौँ परिवारहरू अहिले भग्नावशेषभित्र बेपत्ता छन् भन्दै स्थानीय अधिकारीहरूले आक्रमण रोकिएन भने मानवीय सङ्कट झनै भयावह बन्ने चेतावनी दिएका छन् । रासस/एपी 

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...