काठमाडौं । बाँके राष्ट्रिय निकुञ्जसँग गाँसिएको कोहलपुर नगरपालिकाका विभिन्न क्षेत्रमा पछिल्लो समयमा बाघ र चितुवाको डरले स्थानीय आतङ्कित छन् । केही दिन अघिमात्रै ढकेरीमा घाँस काट्न गएका एकजनाको बाघले आक्रमण गर्दा मृत्यु भएपछि त्रसित बनेको सो क्षेत्रका बसिन्दा अहिले चितुवाको समेत आक्रमण बढ्न थालेपछि थप चिन्तित र आतङ्कित बनेका हुन् । सोही क्रममा कोहलपुर नगरपालिका वडा नम्बर १२, सुन्दरबस्तीमा शुक्रबार राति स्थानीय रबि टमटाको खोरमा रहेको तीन वटा बाख्रा चितुवाले मारेर खाएको छ ।
खोरमा थुनेर राखिएका तीनवटै बाख्रालाई चितुवाले राति आएर खाएको जनाउँदै टमटाले गत केही दिनदेखि यो क्षेत्रमा पटक पटक चितुवा देखिने गरेको र उसको स्वर समेत सुनिने गरेको बताउनुभयो । उहाँले निकुञ्ज नजिकै रहेको हुँदा चितुवा र बाघको डरले आफुहरु साँझैदेखि घरबाट बाहिर निस्कन नसकेको तथा हरेक समय डर र त्रासमा बस्नु परेको बताउनुभयो ।
सोही ठाउँका अर्का स्थानीय मनविर सुनारले केही दिनको अन्तरालमा कोहलपुरको निबुवादेखि खड्कवारसम्मका चार स्थानमा चितुवाले बाख्रा खाएको बताउनुभयो । उहाँले चितुवाले घरपालुवा जनावरलाई आक्रमण गर्न थालेपछि स्थानीय त्रसित बनेको जनाउँदै सो विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण तत्काल हुनुपर्ने माग गर्नुभयो । पछिल्लो समयमा निकुञ्ज नजिकका गाउँबस्तीमा पटक पटक बाघ र चितुवा देखिने तथा आक्रमण समेत गर्ने गरेका घट्नाहरु बढ्दै गएकोप्रति अधिकांश स्थानीयले चिन्ता प्रकट गरेका छन् । गोरखापत्र

