मल्कवाङमा पहिलोपटक बस पुग्यो

Published on

काठमाडौं । भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने जिल्लाको धवलागिरि गाउँपालिका-५ मल्कवाङमा पहिलोपटक बस पुगेको छ । सदरमुकाम बेनीबजारबाट यात्रु बोकेर शनिबार पहिलोपटक ध१ख ३०८ नम्बरको बस मल्कवाङ पुगेको हो ।  बसका धनी जगत दगामी मगर र चालक श्याम मिजारलाई स्थानीयले अबिर र माला लगाएर स्वागत गरेका छन् । धवलागिरि-५ मल्कवाङका वडाध्यक्ष अमर छन्तयालसहित जनप्रतिनिधि, स्थानीय अगुवा, आमा समूह र युवा क्लबका प्रतिनिधिहरूले चालक र सवारीधनीलाई स्वागत गर्नुका साथै खुसीयाली मनाएका हुन् ।

वडाध्यक्ष छन्त्यालका अनुसार विसं २०७८ मा सडक सञ्जालमा जोडिएको मल्कवाङमा यसअघि जिप, ट्याक्टर र मोटरसाइकल मात्र आउने गरेका थिए । गाउँपालिकामार्फत बर्खामा अवरुद्ध सडक मर्मत गर्ने क्रममा अप्ठ्यारो ठाउँमा ग्रेड र घुम्ती मिलाएर बस सञ्चालन गर्न मिल्ने बनाइएको उहाँले बताउनुभयो ।  सडक सञ्जालमा जोडिएको पाँच वर्षपछि मल्कवाङमा बस सञ्चालन हुन थालेको हो । बस सञ्चालन भएपछि स्थानीयवासीले जिपको तुलनामा सस्तो भाडादरमा यात्रा गर्न पाएको भन्दै खुसी व्यक्त गरेका छन् । यसअघि जिपमा मल्कवाङ–बेनी यात्रा गर्दा प्रतिव्यक्ति रु. एक हजार भाडा तिर्नुपर्ने बाध्यता थियो । बसका लागि प्रतिव्यक्ति भाडादर रु. सात सय ५० कायम गरिएको वडाध्यक्ष छन्तयालले जानकारी दिनुभयो । “बेनीबाट मल्कवाङसम्मको दूरी ४५ किमी छ । बस सेवा सञ्चालन भएसँगै मल्कवाङ, भेडिखाल्डा, कुइनेखानी, आरवाङ, घण्टीवाङका तीन सयभन्दा बढी परिवार लाभान्वित भएका छन्”, उहाँले भन्नुभयो ।

असारदेखि असोजबाहेक आठ महिना बस सञ्चालन गर्न मिल्ने गरेर सडक बनाइएको वडाध्यक्ष छन्त्यालले बताउनुभयो । म्याग्दी यातायात प्रालिले बेनीबाट हरेक बिहान ७ः०० बजे र मल्कवाङबाट बिहान ८ः०० बजे प्रत्येक दिन एउटा–एउटा बस छुट्ने जनाएको छ ।  यसअघि मल्कवाङ, भेडिखाल्टा, आरवाङ, घण्टीवाङ, कुइनेखानीका बासिन्दा पैदलयात्रा गरेर मराङ बेँसी पुगेर बस चढ्ने गर्दथे । मल्कवाङबाट भेडीखाल्टालाई सडक सञ्जालमा जोड्नका लागि धवलागिरि गाउँपालिकाले चालु आर्थिक वर्षको योजना कार्यान्वयनको तयारी गरेको गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बताउनुभयो । उहाँका अनुसार उक्त खण्ड विस्तार तथा स्तरोन्नतिका लागि यस वर्ष रु. ३० लाख विनियोजन भएको छ । 

भेडिखाल्टामा पनि हालसम्म सडक पुगेको छैन । गण्डकी प्रदेश सरकारले मालिका गाउँपालिकाको बिमलुरवाङ, मराङबेँसी, अर्वाङ हँुदै मल्कवाङ जोड्ने सडक स्तरोन्नतिका लागि बहुवर्षीय योजना सञ्चालन गर्ने लक्ष्यसहित चालु आवमा रु एक करोड विनियोजन गरेको छ ।  प्रदेशसभा सदस्य रेशम जुग्जालीले उक्त बजेटलाई २० प्रतिशत मानेर रु. पाँच करोड स्रोत सुनिश्चितता गराई बहुवर्षीय ठेक्का आह्वान गर्नुपर्ने धारणा राख्नुभयो । लुरवाङबाट मल्कवाङ खण्डको अप्ठ्यारो ठाउँको सडकलाई स्तरोन्नति गरेर सहज बनाउन पहल गरिरहेको उहाँले जानकारी दिनुभयो । गारखापत्र

spot_img

ताजा समाचार

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुन र चाँदीको मूल्यमा वृद्धि देखिएको छ । आइतबार...

बहुपति प्रथाको परम्परा तोड्दै युवायुवती

काठमाडौं । हुम्ला जिल्लाका लामा समुदायका युवायुवतीमा पछिल्लो समय घरपरिवारकै सहमतिमा एकल विवाह गर्ने...

इरानको आक्रमण : दुबईमा ज्यान गुमाउने नेपालीको पहिचान खुल्यो

 काठमाडौं । इरानको आक्रमणमा परेर  संयुक्त अरब इमिरेट्सको अबधाबीमा ज्यान गुमाउने नेपालीको पहिचान खुलेको...

निर्वाचन सामग्री बोकेर कार्यक्षेत्र लागे कर्मचारी

काठमाडौं । निर्वाचनमा खटिने कर्मचारी तथा सुरक्षाकर्मीहरू निर्वाचन सामग्री बुझेर मतदान केन्द्रतर्फ लागेका छन्...