काठमाडौं । जिल्ला कारागारमा कैदीबन्दीको संख्या क्षमताभन्दा अत्यधिक बढेपछि ३० जना कैदीलाई भवनभित्र कोठा नपुगेका कारण त्रिपालमुनि बसाउनुपरेको छ। राति सुत्ने स्थान अभाव हुँदा उनीहरू हरेक दिन खुला स्थानमा टाँगिएका त्रिपालभन्दा अन्य विकल्पविहीन भएका छन्। जेनजी आन्दोलनपछि भागेर फर्किएका ४६ कैदीबन्दीलाई पुनः कारागारमा राख्दा कोठा निकै खचाखच भएपछि उनीहरूलाई समेत त्रिपालमुनि राख्नुपरेको कारागार कार्यालयका प्रमुख रविन्द्रप्रसाद ढुङ्गानाले बताए। उनका अनुसार अहिले दुई ठाउँमा १५–१५ गरी ३० जना कैदी त्रिपालमुनि बसिरहेका छन्।
ढुङ्गानाका अनुसार वर्षौंदेखि कैदी सङ्ख्या बढ्ने क्रम रोकिएकाे छैन। गत आर्थिक वर्ष केही स्थानमा जस्ता हालेर अस्थायी बासस्थान निर्माण गरिएको भए पनि समस्या ज्यूँकात्यूँ छ। विशेष गरी अत्यधिक चिसो वा गर्मीमा त्रिपालमुनि बस्नु परेपछि कैदीबन्दी स्वास्थ्य जोखिममा पर्ने गरेको उनले बताए। “भित्र ठाउँ ही छैन, बाहिर राख्नुपरेको छ। चिसोले बिरामी पर्लान् कि भन्ने चिन्ता छ,” उनले भने। यस वर्ष पनि त्रिपाल टाँगिएको स्थानमा जस्ता हालेर कम्तीमा मौसमजन्य जोखिम घटाउने तयारी भइरहेको कार्यालयले जनाएको छ।
हाल कारागारमा ६३० कैदी रहेका छन्, जसमा ५९३ पुरुष र ३७ महिला छन्। उनीहरूसँग दुई जना आश्रित बालबालिका पनि छन्। तर कारागारको क्षमता भने ४७५ पुरुष र ३० महिलाको मात्रै हो। गत भदौ २५ गते भएको घटनामा ७४३ जना कैदी भागेका थिए। तीमध्ये अझै ११३ जना, जसमा दुई बालबालिका पनि छन्, फर्किन बाँकी छन्। यी सबै फर्किएपछि कारागारमा थप चाप बढ्ने भएकाले अझ धेरै कैदीलाई त्रिपालमुनि बस्नुपर्ने अवस्था आउने कारागार प्रशासनको अनुमान छ।

