काठमाडौं । लमजुङको बेसीशहर नगरपालिका–२ भकुण्डेमा पूर्व प्रहरी हवल्दार सिता कँडेलको विभत्स हत्या प्रकरणमा फरार रहेका प्रतिवादी बुद्धिराम दराई रूपन्देहीबाट पक्राउ परेका छन्। २०८१ चैत ३१ गते कँडेलको घर बाहिर ताल्चा लागेको र घरभित्रबाट दुर्गन्ध फैलिएको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। प्रहरीद्वारा घर खोल्दा बक्स पलङको बिस्तारामुनि त्रिपालले बेरिएको अवस्थामा कँडेलको शव फेला परेको थियो। घटनापछि केन्द्रीय अनुसन्धान ब्यूरोसहितको विशेष टोली खटाई प्राविधिक तथा स्थलगत अनुसन्धान अघि बढाइएको थियो, जसबाट चितवन रत्ननगर–६ का ४७ वर्षीय बुद्धिराम दराई सो घटनामा प्रत्यक्ष संलग्न रहेको तथ्य प्राप्त भएको थियो।
दराई पहिले पनि हत्या अभियोगमै दोषी ठहरिइसकेका व्यक्ति हुन्। उनले २०६७ कात्तिक १३ गते गोरखा फिनाम–५ की ५३ वर्षीया चिनी माया पाण्डेको छोरा–छोरीको विवाहसम्बन्धी विवादका क्रममा हत्या गरेका थिए। सो घटनामा गोरखा जिल्ला अदालतले उनलाई २०६८ असार २० गते सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो। यही सजाय भुक्तानका क्रममा भिमफेदी कारागारमा रहेकै बेला उनको कँडेलसँग परिचय भएको अनुसन्धानबाट खुलेको छ।
२०८२ बैशाख १५ गते लमजुङ जिल्ला अदालतले कँडेल हत्या प्रकरणमा दराईविरुद्ध पक्राउ पुर्जी जारी गरेपछि प्रहरी निरन्तर खोजतलासमा थियो। अन्ततः २०८२ मंसिर १८ गते रूपन्देहीको सिद्धार्थनगर–१ बेलहिया सडकखण्डमा देखिएका दराईलाई पक्राउ टोलीले नियन्त्रणमा लिएको हो। पक्राउ परेका उनलाई आवश्यक थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय लमजुङमा बुझाइएको प्रहरी प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिएका छन्।

