मन्त्री घिसिङद्वारा एक महिनाभित्र काम थाल्न ठेकेदारलाई अल्टिमेटम

Published on

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले तनहुँ र चितवन जोड्ने बहुप्रतिक्षित घुमाउने मोटरेबल पुलको निर्माण कार्य एक महिनाभित्र सुरु नगरे ठेक्का तोड्ने कडा चेतावनी दिनुभयो । लामो समयदेखि अलपत्र अवस्थामा रहेको उक्त पुलको शनिबार स्थलगत निरीक्षण गर्दै मन्त्री घिसिङले निर्माण व्यवसायीलाई तत्काल काम थाल्न स्पष्ट निर्देशन दिनुभएको हो । तनहुँको आँबुखैरेनी गाउँपालिका–५ र चितवनको भरतपुर महानगरपालिका–२९ जोड्ने त्रिशूली नदीमाथिको यो पुल निर्माणमा भएको ढिलासुस्तीप्रति राष्ट्रियस्तरमै चासो रहेको उल्लेख गर्दै मन्त्री घिसिङले अब थप कुनै बहाना वा ढिलाइ सह्य नहुने बताउनुभयो । पुलको डिजाइन परिवर्तन भई सडक विभागमा स्वीकृतिका लागि पुगेको जानकारी पाएपछि मन्त्री घिसिङले तत्काल डिजाइन स्वीकृत गरी निर्माण कार्य अघि बढाउन सडक विभागलाई समेत निर्देशन दिनुभयो । उहाँले ११ वर्षअघि सुरु भएको काम पुरानै डिजाइनमा पनि किन सम्पन्न भएन भनी प्रश्न गर्दै विकास निर्माणमा ढिलासुस्ती स्वीकार्य नभएको बताउनुभयो ।     

विसं २०७० असारमा मृत सञ्जीवनी निर्माण कम्पनी, हेटौँडासँग पहिलो सम्झौता भए पनि पुलको कामले गति लिन सकेन । पटक–पटक म्याद थप र डिजाइन परिवर्तनपछि विसं २०७५ माघमा पुनः सम्झौता भएको थियो । विसं २०७८ चैतमा सम्पन्न भइसक्नुपर्ने पुलको काम हालसम्म करिब ५० प्रतिशत मात्रै सम्पन्न भएको सडक डिभिजन कार्यालय, दमौलीले जनाएको छ । हालसम्म दुवै किनारमा पिल्लर मात्रै ठडिएका छन् । पुल निर्माण सम्पन्न भएपछि गण्डकी प्रदेशलाई चितवनको नारायणगढसम्म जोड्ने बुद्धसिंहमार्गको सबैभन्दा छोटो दूरी सुनिश्चित हुनेछ। १०५ मिटर लम्बाइ र फुटपाथसहित ११ मिटर चौडाइको उक्त पुलको लागत सम्झौता बेला नौ करोड ५६ लाख रुपियाँ रहेको थियो ।

यो पुल बनेपछि पोखरा, बाग्लुङ, पर्वत, स्याङ्जा र दमौली लगायतका बासिन्दाले नारायणगढ आवतजावत गर्न हालको मुग्लिन–नारायणगढ सडकको प्रयोग नगरी २३ किलोमिटर दूरी छोट्याउन सक्नेछन् । यसले इन्धनको बचतका साथै स्थानीयलाई ठुलो सास्तीबाट मुक्ति दिलाउने बुद्धसिंह मार्ग सरोकार संघर्ष समितिका अध्यक्ष सिद्धान्त गर्जा मगरले बताउनुभयो । उहाँले आइतबार दिउँसो १ बजे मन्त्री घिसिङसमक्ष घुमाउने पुल लगायत बुद्धसिंह मार्गमा तत्काल पुल निर्माण गर्नुपर्ने र सडक स्तरोउन्नतिको माग गर्दै सडक डिभिजन कार्यालय, दमौलीमा ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको जानकारी दिनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुन र चाँदीको मूल्यमा वृद्धि देखिएको छ । आइतबार...

बहुपति प्रथाको परम्परा तोड्दै युवायुवती

काठमाडौं । हुम्ला जिल्लाका लामा समुदायका युवायुवतीमा पछिल्लो समय घरपरिवारकै सहमतिमा एकल विवाह गर्ने...

इरानको आक्रमण : दुबईमा ज्यान गुमाउने नेपालीको पहिचान खुल्यो

 काठमाडौं । इरानको आक्रमणमा परेर  संयुक्त अरब इमिरेट्सको अबधाबीमा ज्यान गुमाउने नेपालीको पहिचान खुलेको...

निर्वाचन सामग्री बोकेर कार्यक्षेत्र लागे कर्मचारी

काठमाडौं । निर्वाचनमा खटिने कर्मचारी तथा सुरक्षाकर्मीहरू निर्वाचन सामग्री बुझेर मतदान केन्द्रतर्फ लागेका छन्...