युक्रेन युद्धबारे वार्ता सकारात्मक

Published on

काठमाडौं । रुस र युक्रेनबिच झण्डै चार वर्षदेखि जारी युद्ध अन्त्यका लागि अमेरिकाले युक्रेन र युरोपेली प्रतिनिधिसँग फ्लोरिडामा गरेको वार्तालाई ‘फलदायी र रचनात्मक’भएको जनाएको छ । ह्वाइट हाउसका विशेष दूत स्टिभ विटकफले आइतबार सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिनुभएको हो । उहाँका अनुसार युक्रेन, संयुक्त राज्य अमेरिका र युरोपबिच साझा रणनीतिक दृष्टिकोणमा तालमेल कायम गर्न वार्ताको आयोजना गरिएको हो । “हाम्रो साझा प्राथमिकता हिंसा रोक्नु, दीर्घकालीन सुरक्षा सुनिश्चित गर्नु र युक्रेनको पुनः उत्थान, स्थिरता तथा समृद्धिका लागि आधार तयार गर्नु हो । शान्ति केवल युद्ध अन्त्य मात्र नभई स्थिर भविष्यतर्फको सम्मानजनक मार्ग हुनुपर्छ”, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दूत विटकफले भन्नुभयो ।

यो पहल ट्रम्प प्रशासनले महिनौदेखि अघि बढाउँदै आएको कूटनीतिक प्रयासको हिस्सा हो । राष्ट्रपति ट्रम्पले युद्ध अन्त्यका लागि तीव्र कूटनीतिक दबाब दिँदै आउनुभएको छ । तर मस्को र किएभका माग एकअर्कासँग मेल नखाँदा प्रक्रिया जटिल बनेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनप्रति आफ्ना अधिकतम मागमा अडिग रहने सङ्केत दिँदै आउनुभएको छ, यद्यपि युद्धमैदानमा ठूलो क्षति व्यहोर्दै पनि रुसी सेना केही स्थानमा अगाडि बढिरहेको बताइएको छ । यसैबिच, रुससँगको वार्ता पनि जारी रहेको सङ्केत दिँदै क्रेमलिनका एक प्रतिनिधिले फ्लोरिडामा छलफल ‘रचनात्मकरूपमा अघि बढिरहेको’ बताएका छन् । रुसी दूत किरिल दिमित्रीभले शनिबार मियामीमा पत्रकारसँग कुरा गर्दै छलफल निरन्तर जारी रहने जानकारी दिनुभएको थियो । उहाँले विटकफ र राष्ट्रपति ट्रम्पका ज्वाइँ जारेड कुशनरसँग भेटघाट गर्नुभएको रुसी सञ्चार माध्यमले जनाएका छन् ।

युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले आइतबार टेलिग्राममार्फत कूटनीतिक प्रयास तीव्र गतिमा अघि बढिरहेको र फ्लोरिडामा युक्रेनी टोलीले अमेरिकी पक्षसँग सक्रियरूपमा काम गरिरहेको बताउनुभयो । तर क्रेमलिनले युक्रेन, रुस र अमेरिका संलग्न त्रिपक्षीय वार्ता तयारी भइरहेको भन्ने दाबी अस्वीकार गरेको छ । राष्ट्रपति पुटिनका विदेश मामिला सल्लाहकार युरी उसाकोभले हाल यस्तो पहल गम्भीररूपमा छलफलमा नरहेको स्पष्ट पार्नु भएको छ । युक्रेनभित्रै, मानव अधिकार लोकपाल दमित्रो लुबिनेट्सले रुसी सेनाले सुमी सीमा क्षेत्रबाट करिब ५० जना युक्रेनी सर्वसाधारणलाई जबरजस्ती रुसमा लगेको आरोप लगाउनुभएको छ । उहाँका अनुसार ती नागरिकलाई अवैधरूपमा नियन्त्रणमा लिएर रुसी भूभागमा पुर्याइएको हो । यस विषयमा उहाँले रुसका मानव अधिकार आयुक्तसँग सम्पर्क गरी तत्काल नागरिक फिर्ता गर्न माग गर्नु भएको छ ।

यसै सन्दर्भमा, फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनसँग वार्ता गर्न पुटिन इच्छुक रहेको खबरलाई फ्रान्सले स्वागत गरेको छ । म्याक्रोनको कार्यालयले युद्धविराम र शान्ति वार्ताको सम्भावना स्पष्ट भएमा संवाद उपयोगी हुने जनाएको छ । उता, युरोपेली सङ्घ (इयु) का नेताले युक्रेनको सैन्य र आर्थिक आवश्यकताका लागि आगामी दुई वर्षमा ९० अर्ब युरो सहयोग प्रदान गर्ने सहमति जनाएका छन्, जसका लागि पूँजी बजारबाट ऋण लिने योजना बनाइएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...