काठमाडौं । लुम्विनी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको सडक पूर्वाधार कार्यालयले किरण नालामा पक्की पुल निर्माण सम्पन्न गरेपछि बाँकेको खजुरा र जानकी गाउँपालिकाको हजारौं बासिन्दालाई आवागमनमा सहजता भएको छ । पुल निर्माणको काम सम्पन्न भएपछि खजुरा गाउँपालिका –४ ई गाउँ, चल्तुवा, पार्वतीपुर, जानकी गाउँपालिका वडा ४ छत्ररपुर, लाइनपुर, गिजरा लगायतका दर्जनौं गाउँका हजारौं बासिन्दालाई सहजता भएको खजुरा ४ ई गाउँका बीरबहादुर बिसीले जानकारी दिनुभयो ।
स्थानीय बासिन्दा बिसीले भन्नुभयो, “किरण नालामा पक्की पुल निर्माण सम्पन्न भएपछि कोहलपुर र नेपालगञ्ज पुग्न समेत सहज भएको छ, बर्षायाममा पारीगाउँ जानका लागि ५–७ किलोमिटर टाढा जानुपर्ने बाध्यता हटेको छ ।” यो पुल निर्माण कम्पनीको ढिलाइ र पुल निर्माणमा प्राविधिक समस्या आएपछि सम्झौताभन्दा ढिलोगरी निर्माण सम्पन्न भएको हो । पुल निर्माणका लागि गाल्वा सिद्वार्थ दर्शन जेभीले २०७७ फागुन १९ गते पाँच करोड ३२ लाख रुपियाँमा सम्पन्न गर्नेगरी ठेक्का सम्झौता भएको थियो । सम्झौताको समयअवधीसम्म जगको बिवादका कारण पुल निर्माण कार्यमा ढिलाइ भएको हो । पुलको जगको गुणस्तरमा आशंका गरिएकोमा गतबर्ष विज्ञ टोलीबाट परीक्षण गरी निर्माण कार्य अघि बढाइएको हो । लुम्विनी प्रदेश सरकारका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य रत्न खत्रीले प्रदेश सरकारले पुल निर्माण कार्यलाई प्राथमिकता दिएको बताउनुभयो ।
केही स्थानमा निर्माण ब्यवसायीले ढिलाइ गरिरहेको भन्दै उहाँले सम्वद्ध कार्यालय मार्फत निर्माण ब्यवसायीलाई ताकेता गरिरहेको बताउनुभयो । किरण नालामा पुल निर्माण भए पनि दायाबायाँ पहुँच सडक निर्माण गरिनुपर्ने भन्दै उहाँले त्यसका लागि पहल भइरहेको जानकारी दिनुभयो । गोरखापत्र

