बाबुको पहिचान नखुलेकालाई आमाको नामबाट नागरिकता दिइने

Published on

काठमाडौं । सरकारले नेपाल नागरिकता (चौथो संशोधन) नियमावली,२०८२ मन्त्रिपरिषद्‍बाट स्विकृत गरी राजपत्रमा प्रकाशन गरेसँगै बाबुको पहिचान नखुलेकाको हकमा आमाको नामबाट नागरिकता प्रदान गर्ने नागरिकता ऐन २०६३ को व्यवस्था कार्यान्वयन हुने भएको छ । नेपाली नागरिक आमाबाट जन्मिएका सन्तानले आमाको नामबाट नागरिकता प्राप्त गर्ने व्यवस्थालाई सहज बनाउन नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको नेपाल नागरिकता (दोस्रो संशोधन) ऐन,२०८२ गत असोज ५ गते राष्‍ट्रपतिबाट प्रमाणीत भएको थियो। उक्त संशोधन ऐनले गरेका व्यवस्थालाई कार्यान्वयनमा लैजान नागरिकता नियमावली, २०६३ मा चौथो संशोधन गरिएको हो।

सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाउने प्रतिवद्दता जनाएको वर्तमान नागरिक सरकार र कानून मामिला जानकार गृह मन्त्रालयको कमाण्ड सम्हाल्नुभएका मन्त्री ओम प्रकाश अर्यालको चासो एवं सक्रियतासँगै नागरिकता प्राप्तिको सन्दर्भमा भोग्नुपरेका समस्याहरुलाई संवोधन गर्न पौष ११ गते मन्त्रिपरिषद्‍बाट स्विकृत गरेको उक्त दस्तावेज पुस २१ को नेपाल राजपत्रमा प्रकाशन भए लगत्तै त्यसलाई कार्यान्वयनमा लैजान ७७ वटै जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र समेत जारी भएको छ।

के-के छन् नयाँ व्यवस्था ।

विगतमा बाबु वा आमा मध्ये एकले जन्मको आधारमा नागरिकता प्राप्त गरेकोमा एक जना नागरिकता नपाउँदै मृत्यु भएको वा सम्पर्कविहिन भएकाको सन्तानले नियमावलीले तोके बमोजिमको प्रकृया र कागजात पूरा गरेमा अंगिकृत नागरिकता प्राप्त गर्न सक्ने, नेपाली आमाबाट विदेशमा जन्मिएको भए तापनि विदेशको राहदानी वा नागरिकता नलिएको र बाबुको पहिचान खुलाउन नसकेका तथा नेपालमा स्थायी बसोबास गरेको व्यक्तिले नियमावलीले तोके बमोजिमको प्रकृया र कागजात पूरा गरेमा अंगिकृत नागरिकता प्राप्त गर्न सक्ने, नयाँ व्यवस्था अनुसार बाबु र आमा मध्ये कुनै एकले जन्मको आधारमा नेपाली नागरिकता प्राप्त गरेको र अर्को नागरिकता प्राप्त नहुँदै मृत्यु भएको वा होस ठेगाना नरहेकाको सन्तान, नेपाली आमाबाट विदेशमा जन्म भई बाबुको पहिचान नभै  नेपालमा स्थायी बसोबास गरेका सन्तानका सम्बन्धमा प्रमुख जिल्ला अधिकारीले आवश्यक छानबिन गरी अङ्गिकृत नेपाली नागरिकता प्रदान गर्न सक्ने व्यवस्था थप गरिएको छ।

यसरी नागरिकता जारी गर्दा नियमावलीले तोकेका कागजातहरुको अतिरिक्त स्वघोषणालाई एक महत्वपूर्ण आधारको रुपमा लिईएको छ भने त्यसको लागि आवश्यक ढाँचाको व्यवस्था समेत पछिल्लो परिमार्जनले गरेको छ। त्यस्तै साविकमा वैवाहिक अंगिकृत बाहेकका अन्य अंगिकृत नागरिकता गृह मन्त्रालयको निर्णयमा मात्र प्रदान हुने गरेकोमा नयाँ कानुनी व्यवस्थाबाट उक्त अधिकार प्रमुख जिल्ला अधिकारीलाई अधिकार प्रत्यायोजन गर्न सकिने व्यवस्था गरी नागरिकता जारी गर्ने सम्बन्धमा प्रमुख जिल्ला अधिकारीलाई बढि जिम्मेबार बनाईएको छ। त्यस्तै साविकका कानूनी व्यवस्थाले समेट्न नसकेको नाबालक परिचयपत्र वितरण सम्बन्धी विषय र भिसा लिनुपर्ने विदेशी महिलाले नेपाली पुरुषसँग बिवाह गरेको अवस्थामा निजलाई बैवाहिक अङ्गिकृत नागरिकता प्रदान गर्नुपूर्व निजको नेपालको भिसा नियमित भएको हुनुपर्ने व्यवस्था समेत नियमावलीको पछिल्लो संशोधनले समेटेको छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...