अलेप्पोमा झडपपछि सिरियाद्वारा युद्धविराम घोषणा

Published on

काठमाडौं । उत्तरी सिरियाली सहर अलेप्पोमा सरकारी सेना र कुर्दिश लडाकूबिच तीन दिनसम्म चलेको भीषण झडपपछि सिरियाको रक्षा मन्त्रालयले शुक्रबार युद्धविरामको घोषणा गरेको छ । मन्त्रालयका अनुसार शेख मकसौद, अचराफिह र बानी जैद क्षेत्रमा बिहान ३ बजेदेखि युद्धविराम लागु भएको हो । सरकारी विज्ञप्तिमा सशस्त्र समूहलाई छ घण्टाभित्र ती क्षेत्र छाड्न निर्देशन दिइएको छ । क्षेत्र छाड्ने लडाकूलाई आफ्ना व्यक्तिगत हल्का हतियार बोकेर जान अनुमति दिने र उनीहरूलाई कुर्दिश नेतृत्वको सिरियन डेमोक्रेटिक फोर्स (एसडिएफ) को नियन्त्रणमा रहेको उत्तरपूर्वी क्षेत्रमा सुरक्षासहित पुर्‍याइने उल्लेख गरिएको छ । अलेप्पोका गभर्नर अजाम अल-घारिबले सुरक्षा बलका साथ रातभर विवादित क्षेत्रको निरीक्षण गर्नुभएको छ । तर एसडिएफतर्फबाट तत्काल कुनै औपचारिक प्रतिक्रिया आएको छैन र अलेप्पोमा रहेका कुर्दिश बल सम्झौतामा सहमत भएका छन् वा छैनन् भन्ने अझै स्पष्ट छैन ।

सिरियाका लागि अमेरिकी विशेष दूत टम बाराकले सामाजिक सञ्जालमार्फत युद्धविरामको स्वागत गर्दै सिरियाली सरकार, एसडिएफ, स्थानीय अधिकारी र सामुदायिक नेताले देखाएको संयम र सद्भावप्रति कृतज्ञता व्यक्त गर्नुभएको छ । उहाँका अनुसार अमेरिकाले छ घण्टाको समयसीमाभन्दा बाहिर पनि युद्धविराम कायम राख्न सबै पक्षसँग काम गरिरहेको छ । मङ्गलबार गोलाबारी र ड्रोन आक्रमणबाट सुरु भएको झडपका कारण करिब एक लाख ४२ हजार मानिस विस्थापित भएका छन् । दुवै पक्षले एकअर्कामाथि हिंसा सुरु गरेको, नागरिक बस्ती, एम्बुलेन्स र अस्पताल जस्ता पूर्वाधारलाई जानाजानी लक्षित गरेको आरोप लगाएका छन् । कुर्दिश पक्षका अनुसार कुर्द बहुल क्षेत्रमा कम्तीमा १२ सर्वसाधारणको ज्यान गएको छ भने सरकारी अधिकारीले सरकार नियन्त्रित क्षेत्रमा कम्तीमा नौ सर्वसाधारण मारिएको बताएका छन् । दुवै पक्षका दर्जनौँ व्यक्ति घाइते भएका छन् तर लडाकू मृतकको यकिन विवरण सार्वजनिक भएको छैन । यो झडप केन्द्रीय सरकार र एसडिएफबिचको राजनीतिक वार्ता अवरुद्ध भइरहेका बेला भएको हो । अन्तरिम राष्ट्रपति अहमद अल-साराको नेतृत्वमा दमास्कस प्रशासनले गत वर्ष मार्चमा एसडिएफलाई सन् २०२५ को अन्त्यसम्म सिरियाली सेनामा समायोजन गर्ने सम्झौतामा हस्ताक्षर गरेको थियो, तर त्यसको कार्यान्वयन प्रक्रियामा अझै सहमति जुट्न सकेको छैन ।

डिसेम्बर २०२४ मा भएको विद्रोही आक्रमणपछि पूर्वराष्ट्रपति बशर अल-असदको पतनसँगै गठन भएको नयाँ सिरियाली सेनामा समावेश केही गुट पहिले टर्की समर्थित थिए, जसको कुर्दिश बलसँग लामो समयदेखिको वैमनस्य छ । एसडिएफ इस्लामिक स्टेट समूहविरुद्धको लडाइँमा वर्षौदेखि अमेरिकाको मुख्य साझेदार रहँदै आएको छ, तर टर्कीले एसडिएफलाई कुर्दिस्तान वर्कर्स पार्टी (पिकेके) सँग जोडिएको भन्दै आतङ्कवादी सङ्गठनका रूपमा हेर्ने गरेको छ । यद्यपि एसडिएफप्रति अमेरिकी समर्थन कायम रहे पनि राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले दमास्कसको नयाँ सरकारसँग पनि सम्बन्ध विस्तार गर्दै एसडिएफलाई मार्च सम्झौता कार्यान्वयन गर्न दबाब दिइरहेको देखिन्छ । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...