ट्रयाक खुलेको २५ वर्षपछि कालोपत्रे

Published on

काठमाडौं । ट्रयाक खुलेको २५ वर्षपछि बागलुङ नगरपालिका –७ को मूलपानी–तितौरे सडक कालोपत्र भएको छ । सदरमुकाम नजिक रहे पनि लामो समयसम्म स्तरोन्नति हुन नसकेको उक्त सडक कालोपत्रे भएपछि स्थानीयवासी खुशी भएका छन् । बागलुङ नगरपालिका –७ का वडाअध्यक्ष मेघनाथ गैरेका अनुसार मुलपानी–ढिकिचौर–कालिमाति हुँदै तितौरे जोड्ने ८.६ किलोमिटर रहेको उक्त सडक २०५८ सालमा ट्रयाक खुलेको थियो । विश्व बैंकको अनुदान सहयोगमा ४९ करोड ७१ लाख लागतमा २०८१ जेठ २३ गते आशिष फेवा संयुक्त निर्माण कम्पनीसँग ठेक्का सम्झौता भई निर्माणकार्य अघि बढाइएको हो ।

सडक विस्तार, नाली, पर्खाल निर्माण, घुम्ती तथा ग्रेड सुधारको काम सम्पन्न गरेर कालोपत्रको काम अन्तिम चरणमा पुगेको निर्माण कम्पनीका इन्जिनियर मनोज शर्माले जानकारी दिनुभयो । दुई दशकभन्दा बढी समयसम्म स्तरोन्नति नहुँदा समस्या भोग्दै आएका स्थानीयलाई सडक कालोपत्र भएसँगै राहत मिलेको छ । यसले गाउँमा उत्पादन हुने कृषि तथा स्थानीय उत्पादनको बजारीकरणमा समेत सहयोग पुग्ने स्थानीयको भनाइ छ । सडक कालोपत्र भएपछि जीर्ण सडकका कारण वर्षामा हिलो र हिउँदमा धुलोको सास्ती बेहोर्न नपर्ने भन्दै स्थानीय तुलप्रसाद विश्वकर्माले खुशी व्यक्त गर्नुभयो । “हाम्रो गाउँमा यसभन्दा अगाडि धेरै समस्या थियो, धुलो धुवाँ धेरै खाइयो, पर्खाइ पनि लामो भयो” स्थानीय विश्वकर्माले भन्नुभयो, “सडक कालोपत्रे हुने नहुने निश्चित थिएन । हामीले त आशा पनि मारिसकेका थियौं, तर अहिले सडक कालोपत्र भएसँगै केही थप विकास हुने आशा लिएका छौँ ।”

मूलपानी–तितौरे सडक कालोपत्रे भएसँगै यही मार्ग प्रयोग गरी काठे खोलाको भीमापोखरा र धम्जासम्म छोटो दूरीमा पुग्न सकिने वडा अध्यक्ष गैरेले जानकारी दिनुभयो । नगरपालिकाले विश्व बैंकको सहयोगमा यसअघि वडा नम्बर ४ को साढे २ किमी ओडारचौर–ढोडेनी सडक खण्डलाई ८ देखि १० मिटरसम्म चौडा बनाइ कालोपत्रे गरेको छ । वडा १ रामरेखाको गणेशघुम्तीदेखि निरयघाट जोड्ने १ किलोमिटर ६ सय लम्बाइको सडक कालोपत्र सम्पन्न भइसकेको इन्जिनियर सुनिल ठाकुरले जानकारी दिनुभयो । 

विश्व बैंकको सहयोगमा निर्माणाधीन तीन सडकको काम ९२ प्रतिशत सम्पन्न भइसकेको इन्जिनियर ठाकुरको भनाइ छ । विश्व बैंकको अनुदान बागलुङ नगरपालिका सहित देशभरका १७ नगरपालिकाले प्राप्त गरेका छन् । ती सडकहरू ८ मिटर चौडा रहेका छन् । गोरखापत्र

spot_img

ताजा समाचार

ओलीको निर्वाचन केन्द्रित एकसाता लामो दौडधुप स्थगन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधामन्त्री केपी शर्मा ओलीले एकसाता लामो मतदाता...

दैलेखको जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास भण्डारण पुष्टि

काठमाडौं । यहाँको भैरवी गाउँपालिका–१ जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास परिमाणमा खनिज...

कार्य सम्पादनमा सुदूरपश्चिम प्रदेश उत्कृष्ट

काठमाडौं । सुदूरपश्चिम प्रदेश कार्य सम्पादन मूल्याङ्कनमा लगातार दोस्रो पटक मुलुकमै उत्कृष्ट बनेको छ...

कांग्रेसलाई स्वास्थ्यकर्मीको ४१ बुँदे सुधार प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसका शुभेच्छा संस्था तथा लोकतन्त्रवादी स्वास्थ्यकर्मीहरूले आगामी निर्वाचनका लागि पार्टीले तयार...