काठमाडौं । नेकपा (एमाले) का नेता एवं पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले दोलखाबाट उम्मेदवारी दर्ता गराउनुभएको छ । मंगलबार अपरान्ह चारिकोटस्थित निर्वाचन आयोगको कार्यालय पुगेर नेता गुरुङले पार्टीका नेता एवं कार्यकर्तासँगै गएर उम्मेदवारी दर्ता गराउनुभएको हो । त्यसक्रममा नेता पोखरेल र गुरुङले दोलखाको पार्टी एकतावद्ध भएर निर्वाचनमा होमिएको सन्देश दिनुभएको पार्टी जिल्ला कमिटीका उपाध्यक्ष राजेन्द्र मानन्धरले बताउनुभयो । उम्मेदवारी दर्तापछि नेता गुरुङले देशलाई बचाउने र बनाउने मुख्य एजेण्डासहित एमाले चुनावमा होमिएको बताउनुभयो ।
दोलखामा गुरुङले आफूलाई राजनीतिमा इमान, निष्ठा, सक्रियताको पहिचान बनाउनुभएको छ । त्यसैगरी उहाँले राजनीति र उद्यमशीलतालाई सफलतापूर्वक अघि बढाएर राजनीतिलाई कमाईखाने भाँडोको रुपमा प्रयोग गर्न नहुने दृष्टान्त पेश गर्नुभएको छ । गुरुङले यस अघि २०७४ सालको निर्वाचनमा काँग्रेसका रुद्रबहादुर खड्कालाई ३० हजार बढी फराकिलो मतान्तरले पराजित गर्दै विजयी हुनुभएको थियो । गोरखापत्र

