बझाङमा पुनः परीक्षा दिँदै एमाले नेता महर

Published on

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा बझाङ जिल्ला इन्चार्ज ऐन महर प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि पुनः चुनावी प्रतिस्पर्धामा होमिनु भएको छ । विद्यार्थी राजनीतिबाट उदाउँदै अनेरास्ववियूको केन्द्रीय अध्यक्ष हुँदै पार्टीको केन्द्रीय नेतृत्वसम्म पुग्नु भएका महरलाई बझाङको राजनीतिमा निरन्तर सङ्घर्ष र सङ्गठन निर्माणमा खारिएको युवा नेताका रूपमा लिइन्छ । वि.सं. २०५५ सालदेखि औपचारिक राजनीतिमा सक्रिय रहनु भएका महरले बझाङकै सुनी पीपलचौर माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरेपछि उच्च शिक्षा अध्ययनका लागि काठमाडौँ जानुभयो । अध्ययनसँगै राजनीतिमा संलग्न उहाँ अनेरास्ववियूको माध्यमबाट सङ्गठित राजनीतिक यात्रामा होमिनु भएको हो । 

विद्यार्थी जीवनदेखि नै विचार, सङ्गठन र आन्दोलनलाई सँगसँगै अघि बढाउनुभएको महरको राजनीतिक पृष्ठभूमि सङ्घर्षशील छ । वि.सं. २०५० सालमा भएको मदन–आश्रित (दासढुङ्गा) दुर्घटनापछि सुरु भएको आन्दोलनले आफूलाई पूर्ण रूपमा राजनीतितर्फ आकर्षित गरेको महर बताउनु हुन्छ । स्वर्गीय मदन भण्डारीको विचार, भाषण र ‘जनताको बहुदलीय जनवाद’ सँग जोडिएको आन्दोलनमा सक्रिय रहँदै उहाँ एमाले राजनीतिमा दृढतापूर्वक स्थापित हुनु भयो । सोही कालखण्डबाट उहाँ विद्यार्थीको हकअधिकार, सुशासन र भ्रष्टाचारविरुद्धको आन्दोलनमा अग्रपङ्क्तिमा देखिन थाल्नु भयो ।

अनेरास्ववियूको नेतृत्व

२०७६ जेठ ३ गते अनेरास्ववियूको केन्द्रीय अध्यक्ष निर्वाचित हुनुले महरलाई राष्ट्रिय राजनीतिमा चिनाएको थियो । राजधानी केन्द्रित राजनीतिमा सुदूरपश्चिम र कर्णालीबाट नेतृत्व तहमा पुग्नु कठिन मानिँदै आएको सन्दर्भमा उहाँको उदयलाई धेरैले अर्थपूर्ण उपलब्धिका रूपमा लिएका थिए । एमाले र माओवादी केन्द्र एकतापछि बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को समय अनेरास्ववियू देशकै सबैभन्दा ठुलो विद्यार्थी सङ्गठन बनेको थियो, जसको नेतृत्व महरकै हातमा थियो ।

विद्यार्थी सङ्गठनपछि उहाँ एक कार्यकाल नेकपा (एमाले) को केन्द्रीय सदस्य तथा बझाङ जिल्ला सह–इन्चार्ज रहनु भयो । हाल उहाँ पार्टीको केन्द्रीय कमिटी सदस्य तथा बझाङ जिल्ला इन्चार्जको जिम्मेवारीमा हुनु हुन्छ । सङ्गठनभित्र निरन्तर सक्रियता, कार्यक्षमता र कार्यकर्ता माझको पहुँचका आधारमा नेतृत्वले जिम्मेवारी दिएको महरको भनाइ छ ।

२०७९ मा झिनो हार

महर २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा पनि उम्मेदवार बन्नु भएको थियो । तत्कालीन गठबन्धनका उम्मेदवार भानुभक्त जोशीसँग उहाँ ९ सय ९८ मतको झिनो अन्तरले पराजित हुनु भएको थियो । यो हार सुदूरपश्चिम प्रदेशकै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा सबैभन्दा कम मत अन्तरको पराजय थियो । पराजयपछि पनि उहाँ निष्क्रिय नबनी जिल्लाभर घरदैलोमा पुगेर मतदातालाई धन्यवाद ज्ञापन गर्दै सङ्गठन सुदृढीकरणमा लागि रहनु भयो । गठबन्धनविरुद्ध एक्लै प्रतिस्पर्धा गरेर प्राप्त मतले उहाँको व्यक्तिगत राजनीतिक प्रभाव पुष्टि गरेको राजनीतिक विश्लेषकको भनाइ छ । 

चुनौती र सम्भावना

आगामी निर्वाचनमा महरका लागि मुख्य चुनौती अघिल्लो निर्वाचनको परिणामलाई उल्ट्याउनु हो । एमाले सङ्गठन बझाङमा सुदृढ रहेको दाबी गर्दै आएका महर पार्टीभित्रको एकता, सङ्गठनात्मक शक्ति र जनतासँगको निरन्तर सम्पर्क नै आफ्नो मुख्य आधार भएको बताउनु हुन्छ । उहाँले विकास, पहुँचविहीनता, सडक, शिक्षा, स्वास्थ्य र रोजगारीका विषयलाई संसदमा प्राथमिकतासाथ उठाउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । महर भन्नु हुन्छ, “बझाङको समस्या मैले नजिकबाट देखेको र भोगेको छु । प्रतिनिधि सभामा ती मुद्दा बुलन्द रूपमा उठाएर समाधानतर्फ लैजान्छु । पदमा रहँदा वा नरहँदा जनताको पक्षमा काम गर्दै आएको छु । बझाङवासी मेरो जितको प्रतीक्षामा हुनु हुन्छ ।” गोरखापत्र

spot_img

ताजा समाचार

छथरमा जातीय–सांस्कृतिक सहअस्तित्व र साहित्यमा केन्द्रित प्राज्ञिक गोष्ठी

काठमाडौं । तेह्रथुम – छथर गाउँपालिकामा जातीय, सांस्कृतिक विविधता र साहित्यिक–सामाजिक सहअस्तित्वका विषयमा प्राज्ञिक...

राष्ट्रपति पौडेलसँग ब्रिटिश गोर्खा सेनाको वार्षिक प्रतिवेदन प्रस्तुत

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त अधिराज्य बेलायती सेनाका मेजर जेनरल जेरल्ड एम स्ट्रिकलेण्डसहितको टोलीले...

सुनसरी–४ का मतदाताले उम्मेदवारसँग मागे बाढी नियन्त्रण र पूर्वाधार सुधार

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत सुनसरी क्षेत्र नं...

कास्की–२ कांग्रेस उम्मेदवार बास्तोलाको हात फ्र्याक्चर, चुनावी अभियानमा चोट

काठमाडौं । नेपाली कांग्रेसका कास्की–२ का उम्मेदवार माधवप्रसाद बास्तोला निर्वाचन अभियानका क्रममा घाइते हुनुभएको...