ट्रम्पको कर चेतावनीले सियोल चिन्तित

Published on

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अटोमोबाइल, काठ र फार्मास्युटिकल्स लगायत दक्षिण कोरियाबाट आयात हुने सामानमा कर बढाउने घोषणा गर्नु भएपछि दक्षिण कोरियाको सरकारले मङ्गलबार आपतकालीन बैठक बोलाएर स्थिति मूल्याङ्कन गरेको छ । राष्ट्रपति ट्रम्पले सोमबार दक्षिण कोरियाले वासिङ्टनसँग यसअघि भएको व्यापार सम्झौताको पूर्ण पालना नगरेको आरोप लगाउँदै ती सामानमा कर बढाउने बताउनुभएको हो । उहाँको घोषणा अनुसार हाल १५ प्रतिशत रहेको कर दर बढेर २५ प्रतिशत पुग्ने छ । तर, दक्षिण कोरियाको राष्ट्रपति कार्यालयले अमेरिकी पक्षबाट यस्तो कर वृद्धि योजनाबारे आफूलाई पहिल्यै कुनै आधिकारिक सूचना नआएको स्पष्ट पारेको छ । राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोसल’मा लेख्दै ‘दक्षिण कोरियाको विधायिकाले अमेरिकासँग गरिएको सम्झौता अनुसार काम गरिरहेको छैन’ भन्ने दाबी गर्नु भएको छ । उहाँका अनुसार कोरियाली संसद्ले ‘हाम्रो ऐतिहासिक व्यापार सम्झौता लागु नगरेकाले’ उहाँले कर दर बढाउने निर्णय लिनु भएको हो । यस घोषणापछि सियोलमा मङ्गलबार आपतकालीन बैठक बसेको थियो । उक्त बैठकमा हाल क्यानाडामा रहनु भएका व्यापार तथा उद्योग मन्त्री किम जङ्ग–क्वान टाढाबाट सहभागी हुनु भएको थियो । बैठकपछि जारी गरिएको विज्ञप्तिमा दक्षिण कोरियाली सरकारले अमेरिकी पक्षसँग भएको प्रशुल्क सम्झौता कार्यान्वयनप्रति आफ्नो प्रतिबद्धता दोहोर्याउँदै शान्त र मापन गरिएको तरिकाले प्रतिक्रिया जनाउने बताएको छ ।

सरकारले वासिङ्टनले घोषणा गरेको कर वृद्धि तत्काल लागु नहुने र सङ्घीय रजिस्टरमा प्रकाशन जस्ता आवश्यक प्रशासनिक प्रक्रिया पूरा भएपछि मात्र प्रभावमा आउने विश्वास व्यक्त गरेको छ । यसैबिच, दक्षिण कोरियाका व्यापार मन्त्री किम यस विषयमा छलफल गर्न अमेरिकी वाणिज्य मन्त्री हावर्ड लुटनिकसँग भेटवार्ता गर्न वासिङ्टन जाने तयारीमा हुनुहुन्छ । यो घटना क्रम वासिङ्टन र सियोलबिच केही महिना अघि मात्र व्यापार तथा सुरक्षा सम्झौता भएको पृष्ठभूमिमा आएको हो । ती सम्झौताले लामो समयदेखि चलेको तनावपूर्ण वार्तालाई सीमित गर्दै द्विपक्षीय सम्बन्धलाई नयाँ दिशामा लैजाने अपेक्षा गरिएको थियो । गत अक्टोबरमा दक्षिण कोरियाली समकक्षी ली जे म्युङसँग राष्ट्रपति ट्रम्पको भेटपछि अमेरिकी शुल्क कटौती र दक्षिण कोरियाबाट थप लगानीको प्रतिबद्धतासहित सम्झौतालाई अन्तिम रूप दिइएको थियो । तर त्यस यता उक्त सम्झौता दक्षिण कोरियामा कानुनी रूपमा अझै लम्बित अवस्थामा रहेको छ । सियोलको राष्ट्रपति कार्यालयले नोभेम्बरमा यस सम्झौताले बाध्यकारी कानुनी दस्तावेज भन्दा बढी समझदारी ज्ञापन पत्रको स्वरूप लिएको तर्क गर्दै संसदीय स्वीकृतिको आवश्यकता नपर्ने जनाएको थियो । सम्झौता संसद्मा पेस गरिएको छ वा छैन भन्ने प्रश्नमा एक वरिष्ठ अधिकारीले मङ्गलबार एएफपीलाई आफूले त्यसबारे समीक्षा गरिरहेको बताउँदै विस्तृत जानकारी दिन अस्वीकार गर्नु भएको छ ।

सम्झौता अनुसार वासिङ्टनले सवारी साधन, कार पाट्र्स र फार्मास्युटिकल्ससहित दक्षिण कोरियाली सामानमा अधिकतम १५ प्रतिशतसम्म कर लगाउने व्यवस्था गरेको थियो । विशेष गरी, यस सम्झौताले दक्षिण कोरियाली कारमा लाग्ने अमेरिकी शुल्क २५ प्रतिशतबाट घटाएको थियो । तर राष्ट्रपति ट्रम्पको पछिल्लो चेतावनी यदि कार्यान्वयनमा आयो भने त्यो व्यवस्था उल्टिने छ । संयुक्त राज्य अमेरिकामा दक्षिण कोरियाको कुल निर्यातमध्ये करिब २७ प्रतिशत अटो उद्योगले ओगटेको छ, जुन देशको कुल कार निर्यातको लगभग आधा हिस्सा हो । उच्च कर दरमा पुनः फर्किनु परेमा दक्षिण कोरियाली निर्यात जापान र युरोपेली सङ्घ (इयु) जस्ता अर्थतन्त्रको तुलनामा कमजोर स्थितिमा पर्न सक्ने विश्लेषकको भनाइ छ, किनकि ती दुवैले अमेरिकासँग १५ प्रतिशत करमै सहमति गरिसकेका छन् । हालसम्म ट्रम्प प्रशासनले कर परिवर्तन लागु गर्न आवश्यक औपचारिक सूचना सार्वजनिक गर्न बाँकी नै राखेको छ । दक्षिण कोरियालाई लक्षित गर्दै आएको यो चेतावनी हालैका दिनमा अमेरिकी राष्ट्रपतिको प्रमुख व्यापारिक साझेदारमाथिको पछिल्लो कडा अभिव्यक्ति मध्ये एक हो । यसअघि सप्ताहन्तमा राष्ट्रपति ट्रम्पले क्यानाडालाई चेतावनी दिँदै चीनसँग व्यापार सम्झौता गरेमा सीमापार आउने सबै सामानमा १०० प्रतिशत भन्सार शुल्क लगाइने बताउनु भएको थियो । त्यसै गरी, जनवरीको सुरुमा उहाँले ग्रिनल्यान्ड खरिद नभएसम्म धेरै युरोपेली राष्ट्रमा कर लगाउने धम्की दिनु भएको थियो, र त्यसपछि पनि उहाँले ती धम्कीलाई सार्वजनिक रूपमा समर्थन गर्दै आउनु भएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

छथरमा जातीय–सांस्कृतिक सहअस्तित्व र साहित्यमा केन्द्रित प्राज्ञिक गोष्ठी

काठमाडौं । तेह्रथुम – छथर गाउँपालिकामा जातीय, सांस्कृतिक विविधता र साहित्यिक–सामाजिक सहअस्तित्वका विषयमा प्राज्ञिक...

राष्ट्रपति पौडेलसँग ब्रिटिश गोर्खा सेनाको वार्षिक प्रतिवेदन प्रस्तुत

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त अधिराज्य बेलायती सेनाका मेजर जेनरल जेरल्ड एम स्ट्रिकलेण्डसहितको टोलीले...

सुनसरी–४ का मतदाताले उम्मेदवारसँग मागे बाढी नियन्त्रण र पूर्वाधार सुधार

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत सुनसरी क्षेत्र नं...

कास्की–२ कांग्रेस उम्मेदवार बास्तोलाको हात फ्र्याक्चर, चुनावी अभियानमा चोट

काठमाडौं । नेपाली कांग्रेसका कास्की–२ का उम्मेदवार माधवप्रसाद बास्तोला निर्वाचन अभियानका क्रममा घाइते हुनुभएको...