काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी साक्षीका रूपमा प्रस्तुत गरिएका दुई व्यक्तिले अदालतमा प्रतिकूल बकपत्र गरेपछि उनीहरूविरुद्ध आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ । भूमिसुधार तथा मालपोत कार्यालय, भक्तपुरका प्रमुख मालपोत अधिकृत कुमार आचार्य र कार्यालय सहयोगी टिकाराम राउतले मोही जग्गा दर्ताका लागि सेवाग्राहीसँग २४ लाख ५० हजार रुपियाँ घुस लिएको प्रकरणमा सरकारी साक्षी बनाइएका तेज बहादुर तामाङ र सानुकान्छा तामाङविरुद्ध मुद्दा चलाइएको हो । भक्तपुर, चाँगुनारायण नगरपालिका–४ का तामाङद्वयले आयोगमा अनुसन्धानका क्रममा गरेको बयानको प्रतिकूल हुने गरी विशेष अदालतमा बकपत्र गरेको आयोगको ठहर छ ।
साविक चाँगुनारायण गाविस–५ ख, कित्ता नं. २८६ र २८९ को जग्गा बाँडफाँड तथा नामसारीका लागि सहजीकरण गरिदिने भन्दै कर्मचारीसँगको मिलेमतोमा घुस लेनदेन भएको कार्य पुष्टि भएको आयोगले जनाएको छ । आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार, बयान फेर्ने साक्षीहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) बमोजिमको कसुरमा २४ लाख ५० हजार रुपियाँ बिगो कायम गरिएको छ । उनीहरूलाई सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम कैद र बिगो बमोजिम जरिवाना सजायको मागदाबी गर्दै आरोपपत्र दायर गरिएको हो । गोरखापत्र

