पञ्चायतदेखि गणतन्त्रसम्म: शरदसिंह भण्डारीको निरन्तर चुनावी यात्रा

Published on

काठमाडौं । नेपालको राजनीति परिवर्तन, आन्दोलन र शासन प्रणालीका अनेक प्रयोगसँगै अघि बढ्दै आएको छ । यिनै उतार–चढावबीच केही यस्ता राजनीतिक पात्र छन्, जसले व्यवस्था फेरिए पनि जनमतको कचहरीबाट कहिल्यै पछि हटेनन् । त्यसमध्ये एक हुन्—शरदसिंह भण्डारी । वि.सं. २०३८ सालदेखि आजसम्म निरन्तर चुनावी प्रतिस्पर्धामा उभिँदै आउनु आफैंमा असाधारण राजनीतिक यात्राको उदाहरण हो । पञ्चायत व्यवस्था, बहुदलीय प्रजातन्त्र, संविधानसभा हुँदै संघीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्दा पनि भण्डारीको सक्रियता र चुनावप्रतिको प्रतिबद्धता रोकिएको छैन । उहाँले वि.सं. २०३८ सालमा महोत्तरीबाट राष्ट्रिय पञ्चायत सदस्यमा निर्वाचित हुँदै राष्ट्रिय राजनीतिमा प्रवेश गर्नुभएको थियो । त्यसपछि वि.सं. २०४३ सालको दोस्रो राष्ट्रिय पञ्चायत निर्वाचनमा पनि उहाँ पुनः विजयी हुनुभयो ।

बहुदलीय व्यवस्था स्थापनापछि पनि भण्डारी राजनीतिमा निरन्तर रहनुभयो । वि.सं. २०४८ सालको प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवार बन्नुभएका उहाँ पराजित हुनुभयो । तर पराजयले उहाँलाई रोक्न सकेन । वि.सं. २०५१ सालको मध्यावधि निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा विजयी भई प्रतिनिधिसभामा प्रवेश गर्नुभयो । त्यसपछि वि.सं. २०५६ सालमा नेपाली कांग्रेसबाट उम्मेदवार भई पुनः संसद्‌मा पुग्नुभयो । मधेस केन्द्रित राजनीतितर्फ उन्मुख हुँदै भण्डारीले वि.सं. २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा उम्मेदवारी दिनुभयो, यद्यपि सफलता हात लागेन । वि.सं. २०७० सालमा दुईवटा निर्वाचन क्षेत्रमा उम्मेदवारी दिँदा पनि उहाँ पराजित हुनुभयो । तर उहाँको राजनीतिक यात्रामा त्यसले पूर्णविराम ल्याएन । वि.सं. २०७४ र २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा महोत्तरी–२ बाट क्रमशः राजपा र लोसपाबाट उम्मेदवार भई विजयी हुनुभयो । हाल उहाँ जनता समाजवादी पार्टी (जसपा) नेपालको तर्फबाट पुनः प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार हुनुहुन्छ । यो उहाँको दशौँ चुनावी प्रतिस्पर्धा हो, जसलाई राजनीतिक कीर्तिमानकै रूपमा लिइन्छ ।

चुनावी इतिहाससँगै भण्डारीको मन्त्री पदको अनुभव पनि उल्लेखनीय छ । उहाँले पञ्चायत कालदेखि संघीय गणतन्त्रसम्म करिब २० पटक मन्त्रीको जिम्मेवारी सम्हालिसक्नुभएको छ । स्थानीय विकास सहायक मन्त्रीदेखि लिएर स्वास्थ्य, रक्षा, पर्यटन, श्रम, ऊर्जा, युवा तथा खेलकुदजस्ता महत्त्वपूर्ण मन्त्रालयको नेतृत्व गर्दै उहाँले विभिन्न शासन प्रणालीको प्रत्यक्ष अनुभव लिनुभएको छ । मरीचमान सिंह श्रेष्ठदेखि शेरबहादुर देउवा, कृष्णप्रसाद भट्टराई, सूर्यबहादुर थापा, माधव नेपाल, डा. बाबुराम भट्टराई, केपी शर्मा ओली र पुष्पकमल दाहालसम्मका सरकारमा मन्त्री भइसकेका भण्डारी नेपाली समकालीन राजनीतिक इतिहासका अनुभवी र सक्रिय पात्रका रूपमा चिनिन्छन् । फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा महोत्तरी क्षेत्र नम्बर–२ बाट उम्मेदवार बन्नुभएका भण्डारीलाई यसपटकको चुनाव सहज भने देखिँदैन । यस क्षेत्रमा कांग्रेसका किरण यादव, नेपाल कम्युनिस्ट पार्टीका लक्ष्मणकुमार यादव, राष्ट्रिय स्वतन्त्र पार्टीका दीपककुमार शाहसहित १५ राजनीतिक दलका उम्मेदवार र २२ स्वतन्त्र गरी कुल ३७ जना चुनावी मैदानमा छन् ।

भण्डारीले भने सबै उम्मेदवारलाई समान प्रतिस्पर्धीका रूपमा लिएको बताउनुभएको छ । उहाँका अनुसार अहिले सबै उम्मेदवार जनताको परीक्षा दिन बसेका छन् र जनताले विगतमा राम्रो काम गरेका तथा भविष्यमा गर्न सक्ने क्षमतावान उम्मेदवारलाई नै रोज्नेछन् । आफूले जनताको पक्षमा काम गरेको भए पुनः अवसर पाउने विश्वास उहाँले व्यक्त गर्नुभएको छ । महोत्तरी–२ अन्तर्गत भङ्गहा नगरपालिका–१, २, ६, ७ र ८, बलवा नगरपालिका–११, लोहरपट्टि नगरपालिका–९, महोत्तरी गाउँपालिका–६, औरही नगरपालिका–७, ८ र ९, पिपरा गाउँपालिका–६ तथा एकडारा गाउँपालिका–६ पर्दछन् । यस क्षेत्रमा एक लाख सात हजार ५९४ मतदाता रहेका छन् । ६२ मतदानस्थलमा १३३ मतदान केन्द्र तोकिएको मुख्य निर्वाचन अधिकृत माधवप्रसाद अधिकारीले जानकारी दिनुभयो । निर्वाचन स्वच्छ र भयरहित रूपमा सम्पन्न गर्न सुरक्षा व्यवस्था कडा बनाइएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनुभयो ।

स्थानीय बासिन्दाका अनुसार यस क्षेत्रको प्रमुख समस्या वर्षायाममा बाढी, कटान र डुबान तथा सुख्खा मौसममा खानेपानीको अभाव हो । बलवा नगरपालिका–२ का सिकिन्दर पासवानका अनुसार नदीको बहाव नियन्त्रणका लागि मजबुत तटबन्ध, कुलो र नहरको व्यवस्था नहुँदा हरेक वर्ष स्थानीयले ठूलो समस्या झेल्दै आएका छन् । वर्षायाममा बाढीको जोखिम बढ्नुका साथै सुरक्षित खानेपानीको अभाव पनि गम्भीर बनेको उहाँको भनाइ छ । त्यस्तै, लोहरपट्टि निवासी लक्ष्मेश्वर यादवले किसानका लागि सिँचाइको सुनिश्चितता, समयमा गुणस्तरीय बिउ–बिजन र मलखादको उपलब्धता, सहज कृषि कर्जा तथा बाढीबाट जोगाउने स्थायी बाँध निर्माणमा प्रतिबद्ध उम्मेदवारलाई नै मत दिने बताएका छन् ।

spot_img

ताजा समाचार

रामेछापको मन्थलीमा यात्रुवाहक बस तामाकोशीमा खस्यो, ६ जनाको मृत्यु, ५ घाइते

काठमाडौं । काठमाडौँबाट ओखलढुंगातर्फ जाँदै गरेको यात्रुवाहक बस रामेछाप जिल्लाको मन्थली नगरपालिका–६ त्रिवेणी घाटमा...

दार्चुलामा जनपद प्रहरी हवल्दार मृत फेला, घटनामा शङ्का बढेपछि दुई जना पक्राउ

काठमाडौं । दार्चुलामा जनपद प्रहरीका एक हवल्दार मृत अवस्थामा फेला परेका छन्। जिल्ला प्रहरी...

निर्वाचन स्वच्छ र विश्वसनीय बनाउन आचारसंहिताको कडाइ आवश्यक : आयुक्त तुलाधर

काठमाडौं । निर्वाचन आयुक्त डा. जानकीकुमारी तुलाधरले निर्वाचनलाई स्वच्छ, पारदर्शी र विश्वसनीय बनाउन निर्वाचन...

काठमाडौं महानगरमा विद्यालय केन्द्रित एचपीभी खोप अभियान व्यवस्थित गर्न कार्यवाहक प्रमुख डंगोलको निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले विद्यालय केन्द्रित एचपीभी (HPV) खोप अभियानलाई...