काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त अधिराज्य बेलायती सेनाका मेजर जेनरल जेरल्ड एम स्ट्रिकलेण्डसहितको टोलीले गोर्खा विग्रेडको वार्षिक प्रतिवेदन पेश गरेको छ। सो अवसरमा राष्ट्रपति पौडेलले नेपाल र बेलायतबीच घनिष्ठ द्विपक्षीय सम्बन्ध रहेको स्मरण गर्दै, विकास, मानव कल्याण र शान्ति स्थापनामा दुवै राष्ट्रले सहकार्य गर्दै आएको उल्लेख गर्नुभयो। उहाँले राष्ट्रसंघीय शान्ति सेनामा नेपालको योगदान र ब्रिटिश गोर्खाको प्रशंसनीय सेवा द्विपक्षीय सम्बन्ध मजबुत पार्ने महत्वपूर्ण पक्ष रहेको बताउनुभयो।
राष्ट्रपतिका अनुसार, पूर्व ब्रिटिश गोर्खासँगका केही जायज गुनासाहरू कूटनीतिक तहमा छलफल भइरहेको छ र छिट्टै समाधानमा पुग्ने प्रयास भइरहेको छ। साथै उहाँले सन् २०२५ को वार्षिक प्रतिवेदनमा समेटिएका विषयहरू सम्बन्धित निकायहरूले अध्ययन गर्ने बताउनुभयो।
बेलायती सेनाका मेजर जेनरल स्ट्रिकलेण्डले गोर्खा सैनिकहरूको भूमिका प्रशंसनीय रहेको भन्दै, बेलायती गोर्खा भर्ना भएका युवाहरूलाई नेपालका छोरा, छोरी हुन् भनेर सधैं सम्झाइरहेको उल्लेख गर्नुभयो। सो अवसरमा नेपालस्थित बेलायती राजदूत रव फेन पनि उपस्थित थिए।

