काठमाडौं । महोत्तरी क्षेत्र नं. १ को निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसका सभापति गगन कुमार थापा मङ्गलबार बर्दिवास आउनुहुने भएको छ। उहाँको आगमनसँगै क्षेत्रीय राजनीतिक गतिविधि थप सक्रिय बनेको छ। सभापति थापा बर्दिवासस्थित कांग्रेसको स्थानीय प्रचार–प्रसार कार्यालयमा आयोजित कार्यक्रममा सहभागी भई मतदातासँग प्रत्यक्ष संवाद गर्नुहुने कार्यक्रम तय भएको छ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य, औरही नगरपालिकाका पूर्व नगर प्रमुख तथा सुनिलकुमार यादवका अनुसार उक्त अवसरमा सभापति थापाले प्रदेश तथा केन्द्र सरकारका विकास योजना, पार्टीका नीतिगत धारणा र आगामी निर्वाचनको महत्वबारे मतदातालाई जानकारी गराउनुहुनेछ।
सभापति थापाको बर्दिवास आगमनलाई लिएर स्थानीय कांग्रेसका युवा तथा महिला कार्यकर्तामा उत्साह देखिएको छ। उनीहरू पार्टीको सन्देश घरघरमा पुर्याउने, क्षेत्रीय विकासका एजेन्डालाई प्राथमिकतामा राख्दै प्रभावकारी चुनावी रणनीति अघि सार्ने तयारीमा जुटेका छन्। विगतदेखि नै सामाजिक तथा विकास निर्माणका कार्यमा सक्रिय रहेको कांग्रेसले यसपटक पनि व्यापक जनसमर्थन जुटाउने विश्वास व्यक्त गरेको छ। स्थानीय जनप्रतिनिधि र पार्टी कार्यकर्ताले सभापति थापाको उपस्थितिलाई क्षेत्रीय विकास र राजनीतिक चेतनाको दृष्टिले महत्वपूर्ण अवसरका रूपमा लिएका छन्। निर्वाचनको मिति नजिकिँदै जाँदा बर्दिवासमा राजनीतिक चहलपहल तीव्र बन्दै गएको छ।
कांग्रेस बर्दिवास नगर समितिका सचिव विनोद ढुङ्गेलका अनुसार सभापति थापा आज साँझ ५ बजे प्रचार–प्रसार कार्यालय बर्दिवास पुगेर सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ। यसैबीच, महोत्तरी क्षेत्र नं. १ बाट नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवारका रूपमा डा. मुकेशराज काफ्ले निर्वाचन मैदानमा उत्रनु भएको छ। ऊर्जा, प्राविधिक शिक्षा तथा पूर्वाधार विकासका महत्वपूर्ण चरणहरूमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको काफ्लेलाई कांग्रेसले अनुभवी र सक्षम उम्मेदवारका रूपमा अघि सारेको छ।

