काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले विद्यालय केन्द्रित एचपीभी (HPV) खोप अभियानलाई व्यवस्थित र प्रभावकारी रूपमा सञ्चालन गर्न मातहतका सबै निकायलाई निर्देशन दिनुभएको छ। मंगलबार काठमाडौंको डिल्लीबजारस्थित पद्मकन्या माध्यमिक विद्यालयमा आयोजित खोप अभियानको उद्घाटन गर्दै उहाँले महानगरपालिका अन्तर्गतको स्वास्थ्य विभाग तथा सम्बन्धित सबै पक्षलाई अभियान सफल बनाउन जिम्मेवार र सचेत भएर काम गर्न आग्रह गर्नुभयो।
सरकारले पाठेघरको मुखको क्यान्सर प्रतिरोधका लागि एचपीभी खोप निःशुल्क उपलब्ध गराउँदै आएको उल्लेख गर्दै कार्यवाहक प्रमुख डंगोलले लक्षित समूहका किशोरीहरूलाई खोप लिन आग्रह गर्नुभयो। उहाँले काठमाडौं महानगरपालिकाभित्रका सबै विद्यालयमा उक्त खोप अभियान सञ्चालन भइरहेको जानकारी दिँदै त्यसबाट अधिकतम लाभ लिन अनुरोध गर्नुभयो। कार्यवाहक प्रमुख डंगोलले भन्नुभयो, “अघिल्लो वर्षदेखि हामीले यो कार्यक्रम सुरु गरेका हौं। पहिले यो खोप लिन पैसा तिर्नुपर्थ्यो भने अहिले विद्यालय–विद्यालयमा निःशुल्क रूपमा खोप लगाइँदैछ। धेरैभन्दा धेरै बहिनीहरूले यसबाट लाभ लिनुहोस् भन्ने हाम्रो चाहना हो। यो कार्यक्रम महानगरभरिका सबै विद्यालयमा लागू गरिएको छ र सफलतापूर्वक सम्पन्न होस् भन्ने अपेक्षा गर्दछु।”
पाठेघरको मुखको क्यान्सरका कारण ज्यान गुमाउनेको संख्या बढ्दै गएपछि त्यसको प्रतिरोधका लागि सरकारले एचपीभी खोप निःशुल्क रूपमा अभियानकै रूपमा सञ्चालन गरिरहेको छ। काठमाडौं महानगरपालिकाले पनि यस अभियानमा सहभागी भई लाभ लिन सबै सम्बन्धित पक्षलाई आग्रह गरेको छ।

