काठमाडौं । काठमाडौँबाट ओखलढुंगातर्फ जाँदै गरेको यात्रुवाहक बस रामेछाप जिल्लाको मन्थली नगरपालिका–६ त्रिवेणी घाटमा दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। प्रदेश ३–०१–००५ ख ९९७५ नम्बरको बस मंगलबार करिब पौने ११ बजे सडकबाट झण्डै २० मिटर तल तामाकोशी नदीमा खसेर दुर्घटनामा परेको हो। दुर्घटनापछि तत्काल उद्धार कार्य सुरु गरिएको छ।
सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाका अनुसार दुर्घटनाको जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल गुल्म रामेछाप तथा विपद् व्यवस्थापन बेस खुर्कोटबाट गोताखोरसहितको सुरक्षा टोली र नेपाल प्रहरीको संयुक्त टोली उद्धार कार्यमा खटिएको छ। दुर्घटनामा परी मृत्यु हुनेमा दुई जना पुरुष र चार जना महिला रहेका छन्। घाइते अवस्थामा उद्धार गरिएका पाँच जनालाई उपचारका लागि जिल्ला अस्पताल खुर्कोट पठाइएको छ। बसमा कति जना यात्रु सवार थिए भन्ने यकिन हुन सकेको छैन।
उद्धार कार्यलाई तीव्र पार्न सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेस खुर्कोट, सिन्धुलीबाट १० जना गोताखोर परिचालन गरिएको छ। घटनास्थलमा अझै उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ।

