काठमाडौं । सदरमुकाम बेँसीसहर नगरपालिका–७, स्थित सहजी बसपार्कको सार्वजनिक शौचालय अलपत्र बनेको छ । सर्वसाधारण यात्रु र स्थानीयका लागि निर्माण गरिएको उक्त शौचालय अव्यवस्थित र भद्रगोल अवस्थामा रहेको पाइएको हो । बसपार्क जहाँ यात्रुहरूको चहलपहल धेरै हुने क्षेत्र यात्रुहरूकै सहजताका लागि बनाइएको शौचालय अहिले प्रयोग गर्न योग्य छैन । उक्त शौचालय २०६१–६२ सालमा तत्कालीन नगर विकास समितिले निर्माण गरेको हो । बसपार्कसँगै रहेको उक्त शौचालयको उचित व्यवस्थापन नहुँदा संरचना नै अलपत्र बन्न पुगेको छ । उक्त शौचालयमा केहीमा ढोका छैन भने भएका ढोकामा समेत चुक्कुल जडान गरिएको छैन । शौचालयमा पानीका लागि ट्याङ्की समेत राखिएको छ, ट्याङ्कीमा पुमाखाेलाबाट सिधै पाइप जडान गरिए पनि शौचालयमा राखिएका धारामा पानी झरेको छैन । शौचालयको बाहिर पट्टी प्रयोग गर्दा शुल्क तोकिएको सूचना समेत टाँसिएको छ । तर शुल्क लिने वा शौचालयको सरसफाइ तथा व्यवस्थापन गर्ने कोही देखिँदैन । यस विषयमा लमजुङ बसपार्क सहजी विकास समाजका अध्यक्ष रामबहादुर गुरुङले बसपार्क नै व्यवस्थित नहुँदा शौचालयको अवस्था पनि अलपत्र बनेको बताउनुभयो । उहाँले भन्नुभयो, “बसपार्क बाहिर सडकमा सवारी साधन राख्छन्, शौचालयमा गाँजा खानेहरूको जमात हुन्छ । यसबारे हामीले पटक–पटक नगरपालिका र सुरक्षा निकायमा जानकारी गरायौं तर कुनै सुनुवाइ भएन ।”
अध्यक्ष गुरुङले सहजीमा बसपार्क हुँदाहुँदै सवारी सञ्चालकले मनाङेचौतारा र झिङ्गे खोलामा काउन्टर राखेर काम गरिरहेको बताउनुभयो । सहजी विकास समाजका कोषाध्यक्ष होमप्रसाद गुरुङले उक्त शौचालयलाई प्रयोगयोग्य बनाउन मर्मत कार्य अघि बढाइएको बताउनुभयो । पानी ट्याङकी चुहिने भएकाले सोको मर्मत, ढोका बनाउने, चुक्कुल जडानका लागि आवश्यक व्यवस्थापनमा लागेको बताउनुभयो । सार्वजनिक स्थानमा रहेको यस्तो संरचनाको उचित व्यवस्थापन र नियमित अनुगमन नहुनु स्थानीय सरकारको कमजोरीका रूपमा देखिएको छ । यात्रुहरूका अनुसार बसपार्कजस्तो भिड हुने स्थानमा शौचालय प्रयोग गर्न नसक्दा समस्या थपिएको छ । सार्वजनिक शौचालयको व्यवस्थापन, सरसफाइ र अनुगमन गर्ने मुख्य जिम्मेवारी सम्बन्धित नगरपालिका वा उसले तोकेको निकायको हुने गर्छ । जिम्मेवारी स्पष्ट नहुँदा र अनुगमन नहुँदा सहजी बसपार्कको शौचालय अहिले अलपत्र अवस्थामा पुगेको स्थानीयको भनाइ छ । तत्कालीन नगरविकास समितिले नापजाँच गरेर सार्वजनिक जग्गा क्षेत्र यकिन गरेर शौचालय निर्माण गरे पनि हाल स्थानीयबाट व्यक्तिगत जग्गामा शौचालय रहेको दावी समेत गर्दै आएको लमजुङ बसपार्क सहजी विकास समितिले जनाएको छ । गोरखापत्र

