काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बरिष्ठ नेता तथा काठमाडौँ महानगरका निवर्तमान मेयर बालेन्द्र शाहले आफू मेयरको जिम्मेवारीमा रहँदा महानगरभित्र विदेशी चलखेल र हस्तक्षेप भएको अनुभव सार्वजनिक गर्नुभएको छ। राजधानीको मेयर पदको हैसियत प्रधानमन्त्रीभन्दा कम नहुने उल्लेख गर्दै उहाँले यस्तो अभिव्यक्ति दिनुभएको हो। झापा क्षेत्र नं. ५ का प्रतिनिधि सभा सदस्य उम्मेद्वारसमेत रहनुभएका शाहले सोमबार बिहान दमकमा आयोजित घरदैलो कार्यक्रममा बोल्दै काठमाडौँ महानगरमा अन्तर्राष्ट्रिय समुदायको प्रभाव उल्लेख्य रहेको दाबी गर्नुभयो। एक मतदाताले अन्तर्राष्ट्रिय चलखेलबारे प्रश्न उठाएपछि शाहले त्यो विषय आफूले प्रत्यक्ष रूपमा भोगेको बताउनुभयो। तर, कसरी र कसको संलग्नतामा चलखेल भयो भन्ने विवरण भने उहाँले खुलाउनु भएन।
“काठमाडौँ महानगरमा कति स्तरसम्म अन्तर्राष्ट्रिय चलखेल भएको थियो भन्ने कुरा तपाईँहरूले कल्पना पनि गर्न सक्नुहुन्न,” शाहको भनाइ थियो। उहाँले फोहोर व्यवस्थापनको क्षेत्रमा समेत बाह्य हस्तक्षेप भएको संकेत गर्नुभयो। फोहोर व्यवस्थापनका निर्णय र प्रक्रियामा व्यापक हस्तक्षेप भएको भन्दै शाहले त्यस समयका घटनाबारे धेरैलाई जानकारी रहेको पनि उल्लेख गर्नुभयो। पछिल्लो समय निर्वाचनमा समेत अन्तर्राष्ट्रिय प्रभाव बढ्दै गएको भन्दै केही मतदाताले गुनासो व्यक्त गरिरहेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना बरिष्ठ नेता शाहलाई निर्वाचनपछिको प्रधानमन्त्रीको रूपमा अघि सारेको छ।

