काठमाडौँ । माधवकुमार नेपालले गौर नगरपालिका–६ सपगडामा हालै उत्पन्न घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभएको छ। पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक नेपालले आज जारी गर्नुभएको सन्देशमार्फत हिन्दू र मुस्लिम समुदायबीच देखिएको विवाद अन्त्य गर्न संयमता अपनाउन आग्रह गर्नुभएको हो। उहाँले धार्मिक सहिष्णुता आत्मसात् गर्दै एकअर्काको धर्म, संस्कृति र चाडपर्वको सम्मान गर्नुपर्नेमा जोड दिनुभयो। सदियौँदेखि आपसी सद्भावका साथ सहअस्तित्वमा बस्दै आएका दुवै समुदायबीच सहयोग र सहकार्यलाई अझ सुदृढ बनाउन आवश्यक रहेको उल्लेख गर्दै साम्प्रदायिक हिंसा कुनै पनि अवस्थामा स्वीकार्य नहुने स्पष्ट पार्नुभयो।
हिन्दू र मुस्लिम समुदाय एकअर्काका परिपूरक रहेको उल्लेख गर्दै उहाँले स्थानीय बासिन्दाको सुरक्षा व्यवस्था सुदृढ गर्न तथा जनजीवनको रक्षा सुनिश्चित गर्न सरकारसँग माग गर्नुभएको छ। रौतहट गृहजिल्ला भई लामो समयदेखि सङ्घीय संसद्मा प्रतिनिधित्व गर्दै आउनुभएका नेपालले हाल देखिएको समस्याको समाधान आपसी संवाद र सहमतिबाट मात्र सम्भव हुने धारणा व्यक्त गर्नुभयो।
रौतहट–१ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहनुभएका नेपालले तोडफोड, आगजनी तथा ढुङ्गा हानाहानका घटना बढ्दै गएपछि प्रशासनले जारी गरेको कफ्र्यु अवस्थालाई सामान्यीकरण गर्न आफूले केन्द्रमा गृहमन्त्रीसँग छलफल गरिरहेको जानकारी दिनुभयो। तीन दिनअघि सामान्य भनाभनबाट सुरु भएको विवाद विस्तारै बढ्दै साम्प्रदायिक तनावमा परिणत भएपछि स्थिति नियन्त्रणमा लिन प्रशासनले निषेधाज्ञा जारी गरेको छ।

