काठमाडौं । मोटरसाइकल दुर्घटनामा परेर कालीकोटमा एक जनाको मृत्यु भएको छ । कालीकोट सदरमुकाम मान्मदेखि घर जानेक्रममा पचालझरना गाउँपालिका –४ का जन्मप्रसाद न्यौपानेको मृत्यु भएको हो । नेपाली काँग्रेस कालीकोट प्रदेशसभा (ख) का प्रवक्ता रहनुभएका न्यौपाने सवार भे ६ प ३३३१ नम्वरको मोटरसाइकल आज बिहान अन्दाजी ७ः३० बजेको समयमा कर्णाली राजमार्गअन्तर्गत कालेखोला खण्डमा दुर्घटना भएको थियो ।
कालेखोला मोड दुर्घटना हुँदा मोटरसाइकल सडकमै रहे पनि न्यौपाने सडकभन्दा तल खस्नुभएको थियो । घाइते अबस्थामा उद्धार गरेर जिल्ला अस्पताल कालीकोटमा उपचार गराउँदै गर्दा उहाँको मृत्यु भएको प्रहरीको भनाइ छ । जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी प्रहरी निरीक्षक गणेश ज्ञवालीले मोटरसाइकलमा उहाँ मात्र सवार रहेको र दुर्घटना हुँदा नै घाँटी भाँचिएर मृत्यु भइसकेको अनुमान गरिएको बताउनुभयो । बाँकी रिपोर्ट पोस्टमार्टमपछि आउने उहाँको भनाइ छ । गोरखापत्र

