काठमाडौं । राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरबाट चासोका हेरिएको झापाको क्षेत्र नं.५ मा प्रतिनिधिसभा सदस्य निर्वाचनलाई दृष्टिगत गरेर सुरक्षा व्यवस्था थप कडा पारिएको छ । दमकमा नेपाली सेनाले हेलिप्याड निर्माण गरी हेलिकाेप्टरमार्फत हवाई गस्ती गर्ने तयारी गरेको छ । झापाको आकाशमा सेनाको उपस्थितिले यहाँको सुरक्षा व्यवस्था कडा पारेको महसुस स्थानीयले गर्न थालेका छन् । यस क्षेत्रमा उच्च राजनीतिक चासो र प्रतिस्पर्धाले सुरक्षा संवेदनशीलता बढेपछि नेपाली सेनाले अन्य सुरक्षा निकायसँग समन्वय गर्दै विशेष सुरक्षा योजना लागु गरेको सुरक्षा स्राेतको दाबी रहेको छ । झापाका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला सुरक्षा समितिका संयोजक शिवराम गेलालका अनुसार झापामा सबै सुरक्षा संयन्त्रहरू परिचालन भएका छन् । जस्तो सुकै अवस्थामा पनि तत्कालै सुरक्षाकर्मीहरू पुग्ने बन्दोबस्त मिलाइएको छ । निर्धक्कका साथ मतदान गर्ने वातावरण बनाइएको उहाँले दाबी गर्नुभयो ।
दमक ९ मा रहेको दमक सभागृहमा नेपाली सेनाको कम्पनी अपरेटिङ बेस (सिओबी) राखिएको छ । उक्त सिओबीको अगाडि हेलिप्याड निर्माण गरिएको हो । उक्त हेलिप्याडमा नेपाली सेनाको हेलिकाेप्टर रहने छ । आवश्यकता अनुसार यहाँबाट हवाई गस्तीको प्रबन्ध मिलाइने सुरक्षा श्रोतको भनाइ छ ।नेपाली सेनाको एएलएच (एडभान्स लाइट हेलिकाेप्टर) मार्फत गस्ती सुरु भइसकेको सुरक्षा स्राेतले जनाएको छ । झापाको आकाशमा बेलाबेला सेनाको हेलिकाेप्टर देखिन थालेको बताइन्छ । निर्वाचनको समयमा झापा ५ अन्तर्गतका विभिन्न संवेदनशील क्षेत्रमा हवाई रेकी तथा गस्ती हुने छ । आकाशबाट निगरानी गरिँदा सम्भावित गतिविधि छिटो पहिचान गर्न सहज हुने सुरक्षा स्राेतको भनाइ छ ।यस निर्वाचन क्षेत्रको सुरक्षाका लागि सिओबी अन्तर्गत चार वटा प्लाटुन अपरेटिङ बेस (पिओबी) स्थापना भएर सुरक्षा गस्ती गर्दै आएको छ । दमक, गौरादह, तोपगाछी र गौरीगञ्जमा रहेका पिओबीमार्फत विभिन्न मतदान केन्द्र आसपासको क्षेत्रमा सुरक्षा परिचालन भएको छ ।
सबै बेसमा बम डिस्पोजल टोलीसमेत तयारी अवस्थामा राखिएको गेलालले बताउनुभयो ।मतदानपछि मतगणना स्थल दमकस्थित निर्वाचन अधिकृतको कार्यालयसम्म पुर्याउन संयुक्त सुरक्षा फौज लाग्ने छ । मतदानको समयदेखि अन्तिम मत परिणाम घोषणा नभएसम्मका लागि विशेष सुरक्षा योजना अनुसार सुरक्षाको काम हुने प्रमुख जिल्ला अधिकारी गेलालले बताउनुभयो । झापामा पाँच वटा निर्वाचन क्षेत्रका लागि कुल ९० जना उम्मेदवार चुनावी मैदानमा छन् । सात लाख १३ हजार ५३७ मतदाता रहेका छन् । जसमध्ये तीन लाख ५८ हजार ३४६ पुरुष, तीन लाख ५५ हजार १८३ महिला र आठ जना अन्य मतदाता छन् । यसपटक ५० हजार २२६ नयाँ मतदाता थपिएका छन् ।निर्वाचनका लागि जिल्लाभर २८५ मतदान स्थल र ८१५ मतदान केन्द्र निर्धारण गरिएको छ । गोरखापत्र

