काठमाडौं । बेनीमा सवारी दुर्घटना न्यूनिकरणका लागि सवारी चालकलाई ट्राफिक नियम सिकाउनका लागि प्रहरी र विद्यार्थीको सहकार्य शुरु गरिएको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दी, जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दी, बेनी नगरपालिका र विद्यार्थीको सहकार्यमा मङ्गलबार बेनीमा ट्राफिक सचेतना शुरु गरिएको हो । प्रकाश माध्यमिक विद्यालयको कक्षा ९ का विद्यार्थीहरूले मङ्गलबार बिहान १० बजे देखि बेनी बजार क्षेत्रमा ट्राफिक नियमबारे सचेतना गराउँदै हिँडेका छन् । विद्यार्थी ट्राफिक स्वयंसेवक बनेर सदरमुकाम बेनीको चोकमा खटिएका छन् । विद्यार्थीहरूले स्वयंसेवक बनेर सडक प्रयोगकर्तालाई ट्राफिक नियमको बारेमा जानकारी गराउँदै नम्र भएर अनुरोध गर्ने गरेका छन् । प्रकाश माविका २० छात्रछात्राले पार्किङ, भीडभाड र सवारीचाप हुने समयमा पैदलयात्रीलाई सहज, एकतर्फी नियमको पालना, विद्यालयको समयमा विद्यार्थीलाई सहयोग गर्ने गरी खटिएका छन् ।
जिल्ला ट्राफिक कार्यालय म्याग्दीले विद्यार्थीलाई स्वयंसेवकको रूपमा खटाएर ट्राफिक नियमको पूर्णपालना गराउने अभियानको सुरुवात गरेको ट्राफिक प्रहरी कार्यालय म्याग्दीका प्रमुख विशाल परियारले बताउनुभयो । उहाँले भन्नुभयो, “विद्यार्थीको पढाइलाई असर नगर्ने गरी हामीले सहकार्य गरेका छौ, यो अभियान निरन्तर र अन्य विद्यालयसँग समेत जोडिने । बेनी बजार क्षेत्र साँघुरो बजार भएकोले एकतर्फी सञ्चालन र पार्किङ नियम उल्लङ्घन भएको, सडक आसपासका पैदलयात्री आवतजावत गर्ने, एकतर्फी रुटको उल्लङ्घनमा विद्यार्थीसँगै ट्राफिक र प्रहरीलाई परिचालन गरिएको हो ।” हिमाली जिल्ला म्याग्दीको सदरमुकाममा स्वयंसेवकको जिम्मेबारीमा खटिएका विद्यार्थीलाई सचेतनामूलक जानकारी समेत गराइएको छ । ट्रफिक प्रहरी प्रमुख असई परियारका अनुसार ट्राफिक नियमको पालना गराउन स्वयंसेवकको भूमिका राम्रो देखिन्छ, बिनाबर्दी ट्राफिकको काम गरिरहेकाको साथमा प्रहरी समेत हुन्छन् । सचेतनामूलक अभियानमा बेनी नगरपालिकाका नगर प्रहरी प्रमुख शंकर पौडेल सहित नगर प्रहरीको समेत उपस्थिति रहेको छ । आधारभूत ट्राफिक तालिम दिएर सदरमुकाम बेनीमा निजी तथा सामुदायिक विद्यालयसँग समेत सहकार्य गर्ने बताइएको छ । गोरखापत्र

