काठमाडौं । यस पटक प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षतर्फ जित हासिल गर्ने महिला राष्ट्रिय स्वतन्त्र पार्टीबाट धेरै छन् । गत २०७९ सालमा भएको निर्वाचनको तुलनामा समग्रमा हेर्दा यस पटक महिलाको राम्रो जित प्रत्यक्षमा देखए पनि नेकपा (एमाले) र नेकपालगायतका दलबाट महिला उम्मेदवारको जित शून्य रह्यो । जसले भावी प्रतिनिधि सभामा उक्त दलबाट प्रतिनिधित्व गर्ने महिलाको सङ्ख्या अति न्यून हुने सम्भावना बढेको छ । त्योबेला नौ जना मात्र महिला उम्मेदवारले प्रत्यक्षतर्फ जितेका थिए । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ जित हासिल गर्ने महिलाको सङ्ख्या मात्र १४ जना पुगेका छन् । जसले प्रत्यक्षतर्फबट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने महिलाको उपस्थिति कम हुने देखाएको छ । नेपालको संविधानको समानताको हकसँगै राज्य संरचनाका हरेक तहमा ३३ प्रतिशत महिला सहभागिता पु¥याउनुपर्ने बाध्यकारी अवस्थामा रहेको छ । यस अनुसार अब दलहरूले समानुपातिक निर्वाचन प्रक्रियाबाट भए पनि संविधान अनुसारको प्रतिनिधित्व गराउनैपर्ने अर्को बाध्यता आइपरेको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको मतगणनाको परिणाम अनुसार प्रत्यक्षतर्फ कुल १६५ निर्वाचन क्षेत्रमध्ये १४ वटामा मात्र महिला उमेदवारले जित हासिल गरेको अवस्था छ । बाँकी सबै क्षेत्र पुरुष उम्मेदवारको वर्चस्वमा परेको छ । सबै क्षेत्र गरेर तीन हजार ४८६ उम्मेदवारी दर्ता भएको थियो । कुल उम्मेदवारीमध्ये ३८८ जना मात्र महिला उम्मेदवार थिए ।
जसमा सबैभन्दा बढी राष्ट्रिय स्वतन्त्र पार्टीबाट १३ जना महिलाले जित हासिल गरेका छन् । एक जना भने नेपाली कांग्रेसकी उम्मेदवार रहनुभएको छ । बाँकी गणना भइरहेकामा महिला उम्मेदवार रहेको अवस्था छैन । केही क्षेत्रमा महिला उम्मेदवारबिच नै प्रतिस्पर्धा रहेकामा अधिकांशमा पुरुषसँग प्रतिस्पर्धा गरेर महिलाले जित हासिल गरेको अवस्था छ । वरिष्ठ अधिवक्ता मीरा ढुङ्गानाका अनुसार यस पटकको निर्वाचनमा महिला उम्मेदवारले राम्रो उपस्थिति देखाउन सकेका छन् । तथापि प्रत्यक्षतर्फ जति जितलक्षित हुनुपर्ने हो नदेखिएको उहाँको मत छ । उहाँले भन्नुभयो, “सबैले जन्मैदेखि जानेर आएका हुन्नन्, महिलाले निर्वाचनमा कसरी सहभागी हुने भन्ने कुरा सिक्दै गएको देखिएको छ ।” त्यसैले प्रत्यक्षतर्फ जतिले जित हासिल गरेका छन् उनीहरूमध्ये धेरैले पुरुषसँग दरो प्रतिस्पर्धाबाट आउन सकेको भन्न सकिने उहाँले बताउनुभयो । राष्ट्रिय स्वतन्त्र पार्टीबाट जित हासिल गर्ने महिला प्रतनिधिमा इन्दिरा रानामगर, रञ्जु न्यौपाने, तोसिमा कार्की, सोबिता गौतम रहनुभएको छ । त्यस्तै उक्त पार्टीबाट निशा डाँगी, आशा झा, रुविना आचार्य, पुष्पा कुमारी चौधरी, गौरी कुमारी, नीतिमा कार्की, आशिका तामाङ, बिना गुरुङ र कोमल ज्ञवालीले पनि जित हासिल गर्नुभएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले १६ जना महिला उम्मेदवारलाई प्रत्यक्ष निर्वाचनमा सिट दिएको थियो । जसमध्ये नेपाली कांग्रेसबाट एकल रूपमा जित हासिल गर्ने महिला उम्मेदवारमा दैलेख निर्वाचन क्षेत्र नं १ बाट बासना थापा रहनुभएको निर्वाचन आयोगले जनाएको छ । यसरी प्रत्यक्ष लडेका महिला उम्मेदवारको निकटतम प्रतिद्वन्द्वीका रूपमा नेपाली कांग्रेसका पुरुष उम्मेदवार रहनुभएको थियो । चितवन क्षेत्र नम्बर ३ मा भने सोबिता गौतमको प्रतिस्पर्धीका रूपमा नेकपाकी रेणु दाहालसहित एमाले र कांग्रेसबाट दुई पुरुष उम्मेदवार हुनुहुन्थ्यो । नेपाली कांग्रेसले ११ जना र नेकपा (एमाले) ले ११ महिलालाई निर्वाचनमा उठाएको थियो । सातै प्रदेशको जितको आँकडा हेर्ने हो भने लुम्बिनी प्रदेशबाट महिलाको जित दर्ज भएको छैन । प्रदेशगत रूपमा हेर्दा कोशी प्रदेशमा रास्वपामा समानुपातिक हुँदै अघि बढेकी निशा डाँगीले झापा क्षेत्र नं. १ मा नेपाली कांग्रेसका केशवराज पाण्डेलाई ४५ हजार ६८० मत ल्याएर जित हासिल गर्नुभयो । झापा २ मा पूर्वउपसभामुख इन्दिरा रानामगरले पूर्वसभामुख तथा नेकपा एमालेका देवराज घिमिरेलाई पराजित गर्दा ६० हजार ११० मत ल्याउनुभएको थियो । उहाँ यसअघि समानुपातिकबाट सांसद बन्नुभएको थियो ।
मोरङ क्षेत्र नं. ५ मा आशा झाले ३० हजार ४३४ मतका साथ कांग्रेसका फूलकुमार लालबानीलाई हराउनुभएको थियो । त्यस्तै मोरङ–६ मा रुविना आचार्यले नेपाली कांग्रेसका दिग्गज नेता डा. शेखर कोइरालालाई ५५ हजार ५१३ मतका साथ दर्बिलो जित हासिल गर्नुभयो । त्यस्तै सप्तरी क्षेत्र नं. १ बाट प्रत्यक्षमा भिडेकी पुष्पाकुमारी चौधरीले पनि ठुलो मतान्तरका साथ स्वाभिमान पार्टीका सुमित कुमारलाई पराजित गर्नुभयो । महोत्तरी क्षेत्र नं. ४ मा रास्वपाकै गौरी कुमारीले जसपा नेपालका सुरेन्द्र कुमार यादवलाई पराजित गर्नुभयो । सर्लाही–१ मा नीतिमा भण्डारीले नेपालकी कांग्रेसका शम्भुलाल श्रेष्ठलाई पराजित गर्दै संसद्को यात्रामा अघि बढ्नुभयो । धादिङबाट आशिका तामाङले नेकपा एमालेका नेता भूमिप्रसाद त्रिपाठीलाई आधा बढी मतान्तरले सानदार जित हासिल गर्नुभयो । काठमाडौँमा विगतका निर्वाचनको हारको बदला लिँदै रन्जु न्यौपानेले नेपाली कांग्रेसका प्रबल थापालाई पराजित गर्नुभयो । उता ललितपुर क्षेत्र नम्बर ३ मा रास्वपाकै डा. तोसिमा कार्कीले नेपाली कांग्रेसका जितेन्द्रकुमार श्रेष्ठलाई ४३ हजार ९६ मतका साथ पराजित गर्नुभयो । यसअघि पनि उहाँ सोही क्षेत्रबाट जित हासिल गर्नुभएको थियो । चितवन क्षेत्र नं. ३ मा नेकपाकी रेणु दाहाललाई हराउँदै सोबिता गौतमले ५९ हजार २७७ मत ल्याएर जित्नुभयो । कास्की क्षेत्र नं. ३ मा बिना गुरुङले पनि नेपाली कांग्रेसका मनोज गुरुङलाई ठुलो मतान्तरले हराउनुभएको थियो । सुदूरपश्चिम प्रदेशबाट रास्वपाकी कोमल ज्ञवालीले नेपाली कांग्रेसकै जनकराज चौधरीलाई पराजित गर्नुभएको थियो ।गोरखापत्र

