‘हात्तीवन-चम्पादेवी’ पदमार्गमा पर्यटकको आकर्षण बढ्दै

Published on

काठमाडौं । काठमाडौँ उपत्यकाको नजिकै रहेको हात्तीवन-चम्पादेवी पदमार्गमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गएको छ । काठमाडौँ उपत्यकाको कोलाहल वातावरणलाई छल्न र आनन्दको अनूभूति लिनका लागि अहिले दक्षिणकाली नगरपालिकाको हात्तीवनबाट कीर्तिपुर नगरपालिकाको चम्पादेवीसम्म पदयात्रा गर्ने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढ्न थालेको हो । काठमाडौँको नयाँ बसपार्कबाट झण्डै १० किलोमिटर दूरीमा रहेको हात्तीवनको फेदबाट सुरु हुने उक्त पदमार्ग तीनदेखि चार घण्टाको पैदलमार्गबाट चम्पादेवीडाँडोमा पुगिन्छ । चम्पादेवीडाँडो समुद्र सतहबाट दुई हजार २८५ मिटर उचाइमा पर्दछ । पदयात्रा, पारिवारिक वनभोज आदिका लागि चम्पादेवी उपयुक्त गन्तव्य मानिन्छ । लमजुङका प्रकाश घिमिरेले ‘हात्तीवन-चम्पादेवी पदमार्ग’मा पदयात्रा गर्दा आफूलाई ज्यादै आनन्दित बनाएको बताउनभयो । “यस पदमार्गबाट काठमाडौँ उपत्यकाको रमणीय दृश्य हेर्न पाउनुका साथै प्रकृतिसँग रमाउन पाइन्छ”, उहाँले भन्नुभयो । पदयात्राका क्रममा शरीर थाकेपनि यहाँको प्राकृतिक सौन्दर्यताले पदयात्रीको थकान मेटाउने गरेको उहाँको अनुभव छ ।

काठमाडौँका पदयात्री डा ज्योति गजुरेलले घना जङ्गल र जैविक विविधताका कारण उक्त पदमार्ग आकर्षक र उत्तम रहेको धारणा राख्नुभयो । “पदमार्गमा हिँड्दा देखिने लालिगुँरासलगायत विभिन्न प्रजातीका फूल, काफल र विभिन्न किसिमका बोटबिरुवा र चराचुरुङ्गीको आवाजले आनन्द तुल्याएको छ”, उहाँले भन्नुभयो । चम्पादेवीडाँडोमा जानका हात्तीवनको फेदीका साथै बोसन गाउँबाटसमेत जान सकिन्छ । यसबाहेक फर्पिङबाट पनि यहाँ जान सकिन्छ । कीर्तिपुरको मच्छेगाउँ र चन्द्रागिरि नगरपालिकाबाट चम्पादेवी पुग्न सकिन्छ । बोसन गाउँ दक्षिणकाली नगरपालिका-१ मा पर्दछ । बोसन गाउँका स्थानीय मधुसुदन तामाङले पछिल्लो समय चम्पादेवी पदमार्गमा जाने पर्यटकको सङ्ख्या बढेको बताउनुभयो । उहाँका अनुसार अन्य दिनमा दुई सयदेखि तीन सयसम्म पदयात्री जाने गरेकामा शनिबार र बिदाको दिनमा हजारौँ पदयात्री जाने गरेका छन् । चम्पादेवी क्षेत्र सुधार तथा व्यवस्थापन संस्थाका अध्यक्ष जनक तामाङले विसं २०६६ देखि सुरु भएको उक्त पदमार्ग अहिले स्वदेशी तथा विदेशी पर्यटकको आकर्षणको केन्द्रविन्दु बनेको बताउनुभयो । विसं २०६६ मा नेपाल सरकारको पर्यटन पूर्वाधार विकास आयोजनाले रु तीन करोड लगानीमा उक्त पदमार्गको सुरुवात गरेको थियो । यो पदमार्ग काठमाडौँ उपत्यकाकै पहिलो पदमार्ग हो । 

उक्त पदमार्गको विकास र विस्तारका लागि दक्षिणकाली नगरपालिकाले ठूलो लगानी गरेको छ । अध्यक्ष तामाङका अनुसार चम्पादेवीमा मङ्सिर पूर्णिमा र नयाँ वर्षको अवसरमा ठूलो मेला लाग्ने गर्दछ । भूकम्पले क्षति पुगेको चम्पादेवी मन्दिर तथा त्यस आसपासको क्षेत्रको पुरातत्व विभागले पुनःनिर्माण गरेको हो । उक्त मन्दिर र त्यसवरपरको क्षेत्र पुनःनिर्माणका लागि रु २८ लाख खर्च भएको छ । यो पदमार्ग धार्मिक, प्राकृतिक र साहसिक अनुभवका लागि महत्वपूर्ण पदमार्गसमेत हो । यो पदमार्गबाट काठमाडौँ उपत्यकाको मनोरम दृश्यका साथै गौरीशङ्कर, लाङटाङलगायतका हिमशृङ्खला सजिलै देख्न सकिन्छ । बोसन गाउँबाट चम्पादेवी मन्दिरसम्म जानका लागि केबुलकारसमेत निर्माण हुन लागेको छ । चम्पादेवीको फेन्ड्रली कम्पनीले दक्षिणकाली नगरपालिका-१ बोसनगाउँबाट कीर्तिपुर नगरपालिका-४ चम्पादेवी डाँडासम्म केबुलकार निर्माण गर्न लागेको हो । केबलकार निर्माणका लागि वातावरणीय अध्ययनको काम अन्तिम चरणमा पुगेको अध्यक्ष तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार रु पाँच अर्ब लगानीमा निर्माण हुन लागेको उक्त केबुलकारको काम दुई वर्षभित्र पूरा हुनेछ । दुई किलोमिटर लम्बाई भएको उक्त केबुलकारमा १२ टावर हुनेछन्, भने मानिस बोक्ने ३४ गोण्डुला, सामान बोक्ने दुई गोण्डुला र मर्मतको सामान बोक्ने एक गोण्डुला हुनेछन् । केबुलकार निर्माण भएपछि बोसन गाउँबाट चम्पादेवी पुग्न सात मिनेट लाग्नेछ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...