काठमाडौं । टाईम्स ईन्टरनेसनल क्लबले हिमालयन जाभा नेसनल बास्केटबल लिग (एचजेएनबीएल) मा पाँचौ जित निकालेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा जारी प्रतियोगितामा टाईम्सले रोयललाई ९५–६१ ले हरायो । टाईम्सले २९–१७, १७–१४, २५–१८ र २४–१२ को नतिजा निकालेको थियो । टाईम्सका कप्तान सदिश प्रधानले सर्वाधिक २४ स्कोर गर्नुभयो । लिगको पहिलो खेलमा गोल्डेनगेटसँग पराजित भएको टाईम्सले त्यसयता उत्कृष्ट प्रदर्शन गर्दै लगातार जित हात पारेको हो । जितसँगै टाईम्सले ६ खेलबाट ११ अङ्क बनाएको छ । पाँचौ हार खेपेको रोयलको समान खेलबाट सात अङ्क छ ।
यसअघि अर्को खेलमा त्रिभुवन आर्मी क्लबले प्लेबक्स एरेनालाई १०२–८६ ले हराएको थियो । नेपाल बास्केटबल सङ्घ (नेबा) ले आयोजना गरेको लिगमा आठ टोलीको सहभागिता रहेको छ । डबल राउण्ड रोविनका आधारमा सञ्चालित लिगमा कूल ५६ खेल हुनेछ । लिगको विजेताले चार लाख, उपविजेताले दुई लाख र तेस्रो हुने टोलीले एक लाख रुपियाँ पुरस्कार पाउनेछ । गोरखापत्र

