मुग्लिन–पोखरा सडक विस्तारपछि यात्रा सहज बन्दै

Published on

काठमाडौं । पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक विस्तार योजनाको पश्चिम खण्ड (जामुने–पोखरा) मा कालोपत्रको काम अन्तिम चरणमा पुगेसँगै यात्रुहरूको यात्रा सहज र सुलभ बनेको छ । लामो समयदेखि धुलो र हिलोको सास्ती खेप्दै आएका यात्री र चालकहरूले सडक विस्तारको ७१ प्रतिशत भौतिक प्रगति भएसँगै राहत महसुस गर्न थालेका हुन् । जामुनेदेखि पोखराको पृथ्वीचोकसम्मको ३९ किलोमिटर दूरीमा अब पोखराको विजयपुरस्थित करिब ३५० मिटर खण्डमा मात्र कालोपत्र गर्न बाँकी रहेको मुग्लिन–पोखरा सडक योजना (पश्चिम खण्ड) की इन्जिनियर सहनशिला कायस्थले जानकारी दिनुभयो । कायस्थले भन्नुभयो, “विजयपुरको सानो खण्डबाहेक सबैतिर कालोपत्र भइसकेकोले अहिले सवारी साधनहरू विना अवरोध र सहज रूपमा गुडिरहेका छन्, जसले गर्दा यात्रा अवधि समेत छोटिएको छ ।”

कायस्थका अनुसार सडक विस्तारसँगै यस खण्डमा रहेका कुल १२ वटा पुलको निर्माण कार्य समेत सम्पन्न भइसकेको छ । यस्तै, पोखराको सेती नदीमा निर्माणाधीन चार लेनको आधुनिक ‘सिग्नेचर’ पुलको काम ६० प्रतिशत सकिएको छ । एक अर्ब सात करोड रुपियाँ लागतको उक्त पुलको फाउन्डेसन र एंकर ब्लकको काम सकिएर अहिले माथिल्लो संरचना (सुपर स्ट्रक्चर) निर्माण भइरहेको आयोजनाले जनाएको छ । सुरुवाती चरणमा विद्युतका पोल स्थानान्तरण र मुआब्जा विवादले केही ढिलाइ भए पनि चिनियाँ निर्माण कम्पनी ‘यनहुइ काइयुयान हाइवे एण्ड ब्रिज कन्सट्रक्सन’ ले अहिले निर्माण कार्यलाई तीव्रता दिएको छ । एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा सात अर्ब ४० करोड ४६ लाख रुपियाँको लागतमा विस्तार भइरहेको यो खण्ड सन् २०२६ भित्रै सम्पन्न गर्ने लक्ष्य राखिएको छ । अहिले सडक चिल्लो बनेपछि जामुनेदेखि पोखरासम्मको यात्रा पहिलेको तुलनामा निकै छिटो र आरामदायी भएको शुक्लागण्डकी नगरपालिका–३ का रामकुमार गुरुले बनाउनु भयो । धुलो हटेसँगै राजमार्ग आसपासका बस्ती र बजार क्षेत्रको जनजीवन समेत सामान्य बन्दै गएको छ ।

यसैगरी मुग्लिन– पोखरा खण्ड अन्तर्गत पूर्वी खण्डको काम आन्तिम चरणमा पुगेको छ । पूर्वीखण्डअन्तर्गतको तनहुँको आँबुखैरेनी गाउँपालिकाको आँबुखैरेनी बजारदेखि म्याग्दे गाउँपालिकाको जामुनेसम्म पर्दछ । पूर्वीखण्डका सूचना अधिकारी विष्णुप्रसाद पाण्डेका अनुसार उक्त खण्डको ९५ प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको छ । एशियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा करिब ६ अर्ब ३१ करोड रुपियाँ लागतमा स्तरोन्नति भइरहेको यो सडक ४१ किलोमिटर लम्बाइको छ । पूर्वी खण्डअन्तर्गत आँबुखैरेनीदेखि जामुनेसम्मको क्षेत्र समेटिएको छ । बजार क्षेत्रहरूमा ६ लेन विस्तार गरिएको छ भने अन्य स्थानमा चार लेनको संरचना तयार गरिएको छ ।

सूचना अधिकारी पाण्डेले हाल सडक कालोपत्रे पूर्ण रुपमा सम्पन्न भइसकेको छ । लेन मार्किङ, रङरोगन तथा साइनबोर्ड जडानजस्ता पुरा भएका छन् । पाण्डेले भन्नुभयो, ‘‘सहरी क्षेत्रमा फुटपाथको काम मात्रै केही बाँकी छन् अरु सबै काम पुरा भईसकेको छ ।’’ पूर्वी खण्डमा पर्ने मादी पुल निर्माणको ८० प्रतिशत काम पूरा भइसकेको र बाँकी संरचनागत तथा फिनिसिङ कार्य जारी रहेको पाण्डेको भनाइ छ । मुग्लिङ–पोखरा सडकखण्डलाई दुई भागमा विभाजन गरी स्तरोन्नति थालिएको थियो । २०७७ माघ १७ गते निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएको यस परियोजनाअन्तर्गत सडक विस्तारसँगै आधुनिक ढल निकास, फुटपाथ, सुरक्षा बार र सङ्केत प्रणाली जडान गरिएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

कोभिडपछि बन्द रहेको ‘वाटर पार्क’ पुनः सञ्चालन

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को महामारीपछि उत्पन्न आर्थिक सङ्कटका कारण बन्द रहेको शिवसताक्षी...

इन्धन मूल्यवृद्धिको मारमा किसान

काठमाडौं । लगातार बढ्दै गएको इन्धनको मूल्यले तराई मधेशका किसानको दैनिक जीवन मात्र होइन,...

वसन्तको आगमनसँगै काठमाडौँमा छायो हरियाली

 काठमाडौं । हुन त यो चैत वैशाखको याम जताततै रुखविरुवामा पालुवा पलाउने र हरियाली...

नवनिर्वाचित सांसदको शपथ तयारी पूरा

काठमाडौं । संघीय संसद् सचिवालय नवनिर्वाचित प्रतिनिधि सभा सदस्यको पद तथा गोपनीयताको शपथ व्यवस्थापनमा...