काठमाडौं । मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले बेसार र अदुवा खेती प्रवर्द्धन गर्नका लागि बीउमा ५० प्रतिशत अनुदान दिने भएको छ । गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२÷८३ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार बेसार र अदुवा प्रवर्द्घन कार्यक्रम सञ्चालन गर्न लागेको हो । पालिकाले ४ नंं वडाका कृषकलाई लक्षित गर्दै अदुवा प्रवर्द्धन र ५ नं। वडालाई लक्षित गर्दै बेसार खेती प्रवर्द्धन गर्न गर्न आह्वान गरेको छ । प्रदेश सशर्त अनुदान अन्तर्गत सञ्चालन हुन लागेको यस कार्यक्रमका लागि गाउँपालिकाले अदुवा प्रवर्द्धन कार्यक्रमका लागि चार लाख ५० हजार र बेसार प्रवर्द्धन कार्यक्रमका लागि चार लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । स्थानीय तहमा सशर्त अनुदान अन्र्तगत कृषि कार्यक्रम कार्यान्वयन कार्यविधि २०८२ बमोजिम छनोट भएका कृषक वा फर्मले अदुवाको बीउमा ५० प्रतिशत अनुदान प्राप्त गर्नेछन् ।
अदुवा खेती कार्यक्रम विशेष गरी मकवानपुरगढी गाउँपालिका वडा नं. ४ र बेसार खेती प्रवर्द्धन कार्यक्रम ५ नं. वडा भित्रका लागि मात्र लक्षित छ । वडा नं.४ र ५ मा दर्ता भई सञ्चालनमा रहेका व्यक्तिगत कृषक तथा कृषक समूह, कृषि सहकारी तथा बहुउद्देश्यीय सहकारी र निजी कृषि फर्म तथा कम्पनीले यस कार्यक्रममा सहभागी हुन आवेदन दिन सक्ने कृषि शाखाप्रमुख गोपालप्रसाद लम्सालले जानकारी दिनुभयो । गोरखापत्र

