काठमाडौं । सरकारले शनिबार र आइतबार गरी दुई दिन सार्वजनिक बिदा दिन थालेपछी तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा पर्यटकको चहलपहल ह्वात्तै बढेको छ । यसअघि शनिबार मात्र पर्यटकको चाप हुने बन्दीपुरमा दुई दिनको बिदाका कारण आइतबार पनि पर्यटकको उत्तिकै चहलपहल देखिन थालेको छ । दुई दिनको बिदाले पर्यटन क्षेत्रमा २० देखि ३० प्रतिशतसम्म पर्यटकको वृद्धि भएपछि यहाँका व्यवसायीहरू उत्साहित भएका छन्। बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले बिदाको सदुपयोग गर्दै धेरै पर्यटक बन्दीपुर आउन थालेको बताउनुभयो । अध्यक्ष थापाले भन्नुभयो, “पहिले केवल शनिबारको मात्र चाप हुन्थ्यो, तर अब दुई दिनको बिदाले गर्दा पर्यटकहरू बन्दीपुरमा एक रात बढी बसेर गाउँका होमस्टे र बजार क्षेत्रको आनन्द लिन पाएका छन् । यसले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाएको छ ।” बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधानले दुई दिनको बिदा पर्यटनका लागि ‘वरदान’ सावित भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “दुई दिनको बिदाले गर्दा आन्तरिक पर्यटकहरू काठमाडौँ र पोखरा जस्ता व्यस्त सहरबाट परिवारसहित बन्दीपुरमा रमाइलो गर्न आइपुग्छन् ।आइतबार पनि पर्यटकको चाप देखिनु भनेको पर्यटनमा सुधारको सङ्केत हो ।” यस्तै, बन्दीपुर सामुदायिक होमस्टेका पूर्व अध्यक्ष राजु बानियाँले पनि दुई दिनको बिदाले होमस्टेमा पाहुनाको आगमन नियमित भएको बताउनुभयो । बानियाँले भन्नुभयो, “धेरैजसो पर्यटकहरू सहरको कोलाहलभन्दा गाउँको शान्त वातावरण र मौलिक आतिथ्यता खोज्दै होमस्टेमा आउनुहुन्छ । दुई दिनको बिदाले पाहुनाहरू हतार नगरी स्थानीय कौराह, चुड्का नाच र अर्गानिक परिकारको मजा लिइरहनुभएको छ ।” पहाडकी रानी नामले परिचित बन्दीपुरमा पुराना घरहरूको वास्तुकला, केबुलकार, सिद्ध गुफा र हिमालको दृश्य हेर्न पर्यटकको भीड लाग्ने गर्दछ ।पोखराबाट ७४ किलोमिटर र काठमाडौँबाट १४२ किलोमिटरको दूरीमा रहेको बन्दीपुर पृथ्वी राजमार्गको डुम्रे बजारबाट नौ किलोमिटर पक्की सडकको यात्रा गरी पुग्न सकिन्छ ।बन्दीपुर गाउँपालिका–१ ठुलो ढुङ्गाबाट केबलकार चढेर पनि बन्दीपुर पुग्न सकिन्छ । गोरखापत्र

