काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन भ्रमणमा जाने अडान राखेका छन्। यही कारण उनको प्रस्तावित चीन भ्रमणको मिति अझै टुंगो लाग्न सकेको छैन।
रास्वपाका अनुसार चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को निमन्त्रणामा पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै लामिछाने भदौको पहिलो साता चीन जाने तयारीमा छन्। बेइजिङमा उपराष्ट्रपति हान झेङ, विदेशमन्त्री वाङ यी र सीपीसीका विदेश विभाग प्रमुखसँग भेट हुने लगभग निश्चित भए पनि राष्ट्रपति सीसँगको भेट अझै सुनिश्चित भएको छैन।
रास्वपाका नेताहरूका अनुसार राष्ट्रपति सीसँग भेट नभए भ्रमण फेरि स्थगित हुन सक्ने सम्भावना रहेको छ। लामिछानेले यसअघि भारत भ्रमणका क्रममा उच्च राजनीतिक नेतृत्वसँग भेट गरेकाले चीनमा पनि सोही स्तरको कूटनीतिक सम्मान अपेक्षा गरेका छन्।

