अन्डमानमा विकसित न्यूनचापीय प्रणाली बलियो बन्दै, नेपालमा वर्षाको प्रभावबारे अझै अनिश्चितता

Published on

काठमाडौं – अन्डमान सागर तथा आसपासको क्षेत्रमा विकसित न्यूनचापीय प्रणाली बलियो बन्दै गएको छ। भारत मौसम विज्ञान विभागले सेप्टेम्बर १९ देखि उक्त क्षेत्रमा न्यूनचापीय क्षेत्र विकसित हुने र त्यसपछि पश्चिम-उत्तरपश्चिमतर्फ सर्दै दक्षिण ओडिशा-उत्तर आन्ध्र प्रदेशको तटीय क्षेत्रतर्फ जाने प्रक्षेपण गरेको थियो। उक्त प्रणाली थप शक्तिशाली बनेमा चक्रवातमा परिणत हुनसक्ने सम्भावनासमेत देखिए पनि यसको प्रभाव नेपालमा कस्तो पर्छ भन्ने विषयमा अहिले नै यकिन गर्न नसकिने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रणालीको निरन्तर निगरानी भइरहेको महाशाखाको भनाइ छ।

मौसमविद् रोजन लामिछानेका अनुसार अन्डमान सागर तथा आसपासमा न्यूनचापीय क्षेत्र विकास भएको भए पनि त्यसले कुन दिशामा कति प्रभाव पार्छ भन्ने स्पष्ट हुन अझै केही समय आवश्यक छ। चक्रवात बनेमा पनि त्यसको प्रत्यक्ष प्रणाली नेपालसम्म आउने नभई भारतको भूभागमा पुगेपछि त्यसबाट उत्पन्न जलवाष्पयुक्त प्रणालीले नेपालमा वर्षा गराउन सक्ने उनले बताएका छन्।

उनका अनुसार चक्रवात बनेर जमिनमा प्रवेश गरेपछि मात्र नेपालका कुन क्षेत्रमा कति प्रभाव पर्न सक्छ भन्ने विषयमा थप स्पष्ट अनुमान गर्न सकिनेछ। प्रारम्भिक अवस्थामा शक्तिशाली देखिएको प्रणाली उत्पत्ति भएको क्षेत्रमा नै कमजोर भएर हराउन सक्ने सम्भावनासमेत रहने भएकाले अहिले नै ठूलो वर्षाको निष्कर्षमा पुग्न नहुने उनको भनाइ छ। लामिछानेले सम्भावित मौसम परिवर्तनलाई ध्यानमा राख्दै सतर्क रहन आग्रह गरेका छन्। विशेषगरी अहिले धानबाली भित्र्याउने समय रहेकाले मौसमको अवस्था हेरेर कृषि कार्य अघि बढाउन उनले सुझाव दिएका छन्।

यसैबीच, त्रिभुवन विश्वविद्यालय जल तथा मौसम केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलले भने उक्त प्रणालीको प्रभाव नेपालमा तुलनात्मक रूपमा बलियो पर्न सक्ने सम्भावना रहेको बताएका छन्। उनका अनुसार विभिन्न मौसम प्रक्षेपण मोडेलको अध्ययन गर्दा भारतका उत्तरपश्चिमी क्षेत्रमा मनसुनी गतिविधि कमजोर हुँदै गएको अवस्थामा नेपालतर्फ यसको प्रभाव केन्द्रित हुनसक्ने देखिएको छ। विभिन्न मौसमी प्रक्षेपणले नेपालका केही स्थानमा उल्लेख्य वर्षाको सम्भावना देखाएको पोखरेलले बताएका छन्। उनका अनुसार आगामी बिहीबारदेखि नेपालका विभिन्न क्षेत्रमा वर्षाको मात्रा बढ्न सक्ने भएकाले सम्भावित जोखिमलाई ध्यानमा राख्दै पूर्वतयारी र सतर्कता अपनाउन आवश्यक छ। नेपाल मौसम विज्ञान विभागले पनि नियमित रूपमा साप्ताहिक मौसमसम्बन्धी बुलेटिन सार्वजनिक गर्दै आएको छ। पछिल्लो अवस्थाबारे यकिन जानकारीका लागि विभागका आधिकारिक पूर्वानुमान तथा सूचनालाई आधार मान्न आग्रह गरिएको छ।

spot_img

ताजा समाचार

कांग्रेसका ७३ जिल्लाका ६ हजार १३२ वडामा अधिवेशन सम्पन्न

काठमाडौं - नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत ७३ जिल्लाका ६ हजार १३२ वडामा वडा...

बाढीपहिरोले मुख्य राजमार्ग प्रभावित, विभिन्न सडकखण्डमा यातायात अवरुद्ध

काठमाडौं । देशका विभिन्न भागमा परेको अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण मुख्य...

संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै, विभिन्न विधेयक कार्यसूचीमा

काठमाडौं – संघीय संसद्का प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ। प्रतिनिधिसभाको बैठक अपराह्न १ बजे...

नेक्सस कबड्डी कप २०८३ सम्पन्न

काठमाडौं – नेक्सस इन्टरनेशनल स्कुलको आयोजनामा सञ्चालन भएको ‘नेक्सस कबड्डी कप २०८३’ को दोस्रो...