सुनसरी । सप्तकोशी नदीमा जलसतह निरन्तर बढेपछि कोशी ब्यारेजका ४३ वटा ढोका खोलिएका छन्। शनिबार बिहान ६ बजेपछिको मापनअनुसार कोशी ब्यारेजमा पानीको बहाव प्रतिसेकेन्ड ३ लाख १६ हजार ७ सय ९५ क्युसेक पुगेपछि थप ढोका खोलिएको हो।
जलसतह बढ्दै गएपछि ब्यारेजका ४३ वटा ढोका खोलिएको हो। यसअघि शुक्रबार दिउँसो पानीको बहाव प्रतिसेकेन्ड २ लाख ४० हजार ९ सय क्युसेक नाघेपछि ३१ वटा ढोका खोलिएको थियो। कोशी ब्यारेजमा जम्मा ५६ वटा ढोका रहेका छन्।
सप्तकोशीमा जलसतह अझै बढिरहेको भन्दै आसपासका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ। जोखिमपूर्ण क्षेत्रमा नजान तथा नदीको बहाव र जलसतहको अवस्थालाई ध्यानमा राखेर सुरक्षित रहन स्थानीय प्रशासनले अनुरोध गरेको हो।
जिल्ला प्रशासन कार्यालय सुनसरीले कोशी नदीको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा रहन आग्रह गरेको छ। साथै नदीमा माछा मार्ने, दाउरा सङ्कलन गर्ने तथा अन्य जोखिमपूर्ण गतिविधि नगर्न प्रशासनले अनुरोध गरेको छ।
गएको बुधबारदेखि देशका धेरै स्थानमा निरन्तर वर्षा भइरहेको छ। लगातारको वर्षाका कारण विभिन्न नदी तथा खोलामा पानीको बहाव बढिरहेको छ। शनिबार बिहानदेखि काठमाडौँ उपत्यकासहित पूर्वी नेपालका केही स्थानमा भने वर्षाको क्रम केही कम भएको जनाइएको छ। तर सप्तकोशीमा जलसतह बढिरहेको अवस्थालाई ध्यानमा राख्दै नदी आसपासका क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

