काठमाडौँ – अविरल वर्षाका कारण पहिरो र सडक भासिएर अवरुद्ध भएको पृथ्वी राजमार्गका विभिन्न सडकखण्डमा सवारी आवागमन सहज बन्दै गएको छ। जिल्ला प्रशासन कार्यालय धादिङले मंगलबार सूचना जारी गर्दै पहिरो तथा सडक भासिएका स्थानमा अवरोध हटाउने काम भइरहेको जनाएको छ। प्रशासनका अनुसार हाल राजमार्गमा एकतर्फी रूपमा सवारी आवागमन सञ्चालनमा रहेको छ।
थप पहिरो तथा अन्य अवरोध नआएमा बुधबार दिउँसो १ बजेदेखि पृथ्वी राजमार्ग भएर चल्ने सबै सवारीसाधन पूर्ण रूपमा सञ्चालनमा आउने प्रशासनले जनाएको छ। अवरोध हटाउने काम तीव्र रूपमा भइरहेको र सडकको अवस्था सामान्य बन्दै गएको जनाइएको छ।
वर्षा रोकिए पनि राजमार्गका विभिन्न स्थानमा पहिरोको जोखिम भने कायमै रहेको प्रशासनले जनाएको छ। भिरालो तथा जोखिमयुक्त क्षेत्रमा जुनसुकै समयमा पहिरो खस्न सक्ने भएकाले यात्राका क्रममा विशेष सावधानी अपनाउन आग्रह गरिएको छ। प्रशासनले सवारी चालक, यात्रु तथा सर्वसाधारणलाई सावधानीपूर्वक यात्रा गर्न तथा प्रचलित ट्राफिक नियम र सडक अनुशासन पूर्ण रूपमा पालना गर्न अनुरोध गरेको छ।

