बेपत्ता जहाजको खोजी आज बिहानैबाट सुरु

Published on

काठमाडौं १६ जेठ । हराइरहेको तारा एयरको जहाजको खोजीलाई आज बिहानैदेखि निरन्तरता दिइएको छ । पोखरादेखि जोमसोम जाने क्रममा आइतबार बिहानदेखि सो जहाज सम्पर्कविहीन बनेको थियो । खराब मौसम र रात परेपछि आइतबार साँझ रोकिएको जहाज खोजीका लागि स्थलमार्गबाट गएका सुरक्षाकर्मीको टोलीले आज बिहानैदेखि निरन्तरता दिएका जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ । कार्यालयका प्रशासकीय अधिकृत देवेन्द्रराज पाण्डेले मानापाथी हिमाल आसपासको क्षेत्रलाई आधार मानेर हराएको जहाज खोज्न नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीका करिब १०० जवान परिचालन भएका जानकारी दिए ।

नेपाली सेना र निजी क्षेत्रको हेलिकोप्टर कुहिरोका कारण हिजो दिनभर सम्भावित ठाउँमा पुग्न नसकेपछि उनीहरू अपराह्न स्थलमार्गबाट गएका हुन् । कोवाङदेखि करिब दुई घण्टा पैदल हिँडेर याकखर्क पुगेका सुरक्षाकर्मी बिहानै मानापाथी हिमालतर्फ लागेका हुन् । आज पनि कुहिरो लागेकाले हेलिकोप्टर उडाउन समस्या देखिएको र खोजीमा चुनौती भएको प्रशासकीय अधिकृत पाण्डेले बताए ।

काठमाडौंबाट सेनाका उद्धारकर्ता आवश्यक सामग्रीसहित हेलिकोप्टरबाट कोवाङ आएका थिए । याकखर्कमा यार्चागुम्बा संकलन गर्न गएका सोलुखुम्बुका राजकुमार राईले नजिकबाट उडेको जहाज ठोक्किएको आवाज सुनेको उद्धारकर्तालाई बताएका थिए ।

सुरक्षाकर्मीसँगै उद्धारमा खटिएका स्थानीयवासी इन्द्रसिंह शेरचनले थप तीन घण्टा पैदलयात्रा गरेपछि सम्भावित स्थलमा पुगिने बताए । पोखराबाट बिहान ९ः५५ बजे जोमसोमका लागि उडेको तारा एयरको ९ एनएईटी विमान बिहान १०ः०७ बजे जोमसोम विमानस्थलको टावरबाट सम्पर्कविच्छेद भएको थियो । हराएको जहाजमा चालक दलका तीन र १९ यात्रु रहेका तारा एयरले जनाएको छ । रासस

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...