बाजुराको उत्पादन हुम्लामा प्रयोग

Published on

काठमाडौँ। छिमेकी जिल्ला बाजुरामा उत्पादन गरिएका डोको, नाम्लोलगायतका सामग्री हुम्ला आयात हुँदै आएका छन् । माथिल्लो हुम्ला सदरमुकाम सिमकोट आसपासका नागरिक हिउँदयाममा छिमेकी जिल्ला बाजुराका विभिन्न स्थानमा पुगी डोको खरिद गरेर यहाँ ल्याएर बिक्री गर्दछन् ।


हिउँदको समयमा काम नहुने सबै फुर्सदिला हुने हुँदा घरखर्च चलाउन बाजुरामा उत्पादन भएका डोको ल्याएर सदरमुकाम आसपासका गाउँमा बिक्री गर्ने चलन रहेको छ । टाढाको दूरी तीन दिन लगाएर बाजुरामा पुगी त्यहाँबाट सडक नभएको ठाउँमा पिठ्युमा बोकी र यातायात आवतजावत गर्ने ठाउँमा गाडीको भाडा तिरेर सदरमुकाम ल्याउने गरेको सिमकोट गाउँपालिका–७ चौगनफया गाउँका रमेश शाहीले बताए ।


स्थानीय शाहीले भने, “बाजुराको बडिमालिका नगरपालिका–७ ढम्कनेमा उत्पादन गरिएका डोको हुम्लामा बिक्री गर्न खरिद गरी ल्याएका छौँ, अहिले सदरमुकाम आसपासका गाउँमा लिएर बिक्री भइरहेको छ ।” ढम्कनेबाट एक सय ५० डोको सिमकोट ल्याएको उनले बताए । सिमकोट पुर्याइएका डोको यता बिक्री नभए चीनको ताक्लाकोट लैजानेसमेत शाहीको भनाइ थियो । हुम्लाबाट डोका ताक्लोट पुर्याएपछि त्यहाँ बिक्री हुने शाहीले बताए । निगालोको चोयाबाट हातले उत्पादन गर्न सकिने परम्परागत डोकोको सिमकोटसम्म आइपुग्दा रु एक हजार आठ सयदेखि रु दुई हजारका दरले बिक्री भइरहेको शाहीले बताए। ढम्कनेमा रु छ सयदेखि रु आठ सयसम्म पर्ने गरेको भए पनि हुम्लाको सिमकोटसम्म आउँदा गाडीभाडालगायतका खर्चले गर्दा महँगो मूल्यमा बिक्री गर्नुपरेको उनले बताए ।


जङ्गलमा पाइने निगालोको चोयाबाट उत्पादन हुने डोको एकदेखि चार किलोग्रामसम्म हुने गरेका छन् । डोको बुन्ने सीप भएकालाई बुन्न सजिलो हुने गरेको भए पनि जङ्गलमा गएर निगालो सङ्कलन गर्न समय लाग्ने र दुःख हुने गरेको शाहीले बताए । सिमकोट बजारस्थित एयरपोर्ट चोकमा डोको बिक्री गर्दै गरेका शाहीले भने, “आजभोलिको समयमा निगालो ल्याउन पनि डिभिजन वन कार्यालयमा गएर पुर्जी काट्ने र त्यसपछि मात्र निकासी गर्न पाउने कारणले समस्यासँगै दुःख थपिएको छ ।” विगत केही समयदेखि निगालोका डोका, डाला, छुन्का, सुप्पा, खार्या, छाप्री, पाथो, थुन्कोलगायतका सामग्री खरिद गरेर आफ्नो मूल्यमा बिक्री गरी गुजारा गर्दै आएको शाहीले बताए । बाजुराको बडिमालिका–७ स्थित ढम्कनेबाट बुढीनन्दा नगरपालिका, हिमाली गाउँपालिका, हुम्लाको ताँजकोट, अदानचुली गाउँपालिका हुँदै सर्केगाड गाउँपालिकाको गिउँसीसम्म गाडीमा र गिउसीदेखि खार्पुनाथ, सिमकोट र नाम्खा गाउँपालिकाका गाउँसम्म डुलाउँदै बिक्री गर्ने गरेको उनले बताए ।

गाउँमा अन्य आम्दानीको स्रोत फेला नपारेका ३४ वर्षका शाही अहिले सोही पेसामा रमाउन थालेका छन् । उहाँले अहिले दिनभरि पिठ्युँमा डोकाको भारी लिएर गाउँ चहार्ने आफ्नो दैनिकीजस्तो बन्दै गएको बताए। गाउँमा जाँदा दिनमा चारदेखि सात जति डोको बिक्री गरेर रु १० देखि १५ हजारसम्मको आम्दानी हुने गरेको छ । उनका अनुसार खरिद र गाडीको ढुवानी जोड्दा फाइदा थोरै आउने गरेको छ ।शाहीले आफैँले डोको बुनेर बेचे मनग्य फाइदा हुने बताए । आफ्नो गाउँको जङ्गलमा निगालो नहुने र आफूलाई डोको बुन्ने सीपसमेत नभएकाले अर्काले बुनेको डोको भए पनि त्यहीँ खरिद गरेर बिक्री गर्ने गरेको उनको भनाइ छ । आजभोलि बजारमा प्लाष्टिकका डोको, डालो आकारका सामग्री आएकाले पनि यसको व्यापार घट्दो क्रममा रहेको उनले बताए ।

spot_img

ताजा समाचार

तेहरानभरि सैन्य लक्ष्यमा आक्रमण तीव्र

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग ‘चाँडै’ सम्झौता हुन सक्ने सङ्केत दिनुभएकै भोलिपल्ट...

तीस दिनभित्रै मुख्य खाद्यान्न बालीको मूल्य निर्धारण गरिने

काठमाडौं । सरकारले ३० दिनभित्र प्रमुख खाद्यान्न बालीको न्यूनतम् समर्थन मूल्य निर्धारण प्रक्रिया सुरु...

मकवानपुरमा २१८ जनामा डेङ्गु सङ्क्रमण

काठमाडौं । मकवानपुर जिल्लामा चालु आर्थिक वर्षको साउन १ गतेदेखि चैत १५ गतेसम्म २१८...

लेबननमा शान्ति सैनिकको मृत्यु, संयुक्त राष्ट्रसङ्घद्वारा निन्दा

काठमाडौं । लेबननमा रहेको संयुक्त राष्ट्रसङ्घको शान्ति बलले सोमबार एक शान्ति सैनिकको मृत्यु भएको...