विद्युतीय शवदाह गृहमा ताला

Published on

काठमाडौं । राजधानी बाहिर पहिलो पटक पोखरामा बनेको विद्युतीय शवदाह गृहमा अहिले ताला लागेको छ । गत भदौ दोस्रो साता निर्माण सकिएको शवदाह गृह हस्तान्तरण नहुँदा अलपत्र परेको हो ।

सहरी विकास मन्त्रालयबाट पोखरा–१०, रामघाटमा बनाएको शवदाह गृहको परीक्षण भइसकेको छ । १४ करोड १३ लाख ५० हजार तीन सय ६७ रपियाँ लागतमा बनेको आधुनिक शवदाह गृह १० रोपनीमा फैलिएको छ । २०७३ सालमा शवदाह गृह निर्माणका लागि ठेक्का सम्झौता भए पनि स्थानीयको विरोध, कोभिड महामारीका कारण कामअघि बढ्न सकेको थिएन । दुई वर्ष कानुनी झमेला र स्थानीयको अवरोधले रोकिएको शवदाह गृह बनिसकेपछि पनि हस्तान्तरण नहुँदा अहिले पात, पतिङ्गरले कुरुप बनेको छ । निर्माण कम्पनी सिनर्जी बिल्डर्स प्रालिले गएको भदौ १८ गते निर्माण सकिएकाले अन्तिम बिल भुक्तानी गर्न र शवदाह गृह हस्तान्तरणका लागि सङ्घीय आयोजना कार्यान्वयन एकाइलाई पत्राचार गरेको थियो । एकाइले भने अझैसम्म पोखरा महानगरलाई हस्तान्तरणका लागि पत्राचार गरिसकेको छैन ।

निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर इन्द्र खनालले काम सकिएको छ महिनासम्म हस्तान्तरण नहुँदा ठुलो नोक्सानी र झन्झट सहनुपरेको सुनाउनुभयो । “म हस्तान्तरणका लागि पोखरा महानगर १५÷१६ पटक धाएँ, यत्रो गौरवको आयोजना बनिसकेर पनि सञ्चालनमा नआउनु दुःखद हो,” खनाल भन्नुहुन्छ । निर्माण कम्पनीले डेढ करोड भुक्तानी पाउन बाँकी छ । शवदाह गृह बनेको जग्गा पोखरा महानगरको हो । सङ्घीय आयोजना कार्यान्वयन एकाइले अब शवदाह गृह महानगरलाई हस्तान्तरण हुने जनाएको छ । एकाइका इन्जिनियर वीरबल सुनार शवदाह गृह बनेर परीक्षणसमेत सफल भइसकेको जानकारी दिनुभयो । एकाइले पोखरा महानगरलाई स्वामित्व लिइदिन पत्रचार गरेको छैन ।

महानगरका प्रवक्ता मोतीलाल तिमिल्सिनाले हस्तान्तरण प्रक्रिया सुरु भएको उल्लेख गर्नुभयो । “नजिकै रहेको बौद्ध अर्घौं सदनले पनि चलाउने इच्छा देखाएको छ, हस्तान्तरण भएपछि कसरी चलाउने भन्ने निर्णय गर्छौं,” उहाँले भन्नुभयो । यो शवदाह गृहमा शव दहन गर्ने तीन मेसिन राख्ने ठाउँ भए पनि अहिले दुई मेसिन राखिएका छन् । ४५ मिनेटदेखि बढीमा एक घण्टाभित्र एउटा मेसिनले एउटा शव दहन गर्छ । शवदाह गृहभित्र श्रद्धाञ्जली दिने स्थानसमेत छ । फराकिलो भवनको परिसरभित्रै हिन्दू धर्मावलम्बीका लागि मन्दिर र बौद्ध धर्मावलम्बीका लागि गुम्बा निर्माण गरिएको छ ।

पोखराका रामघाट, शक्तिघाट, मदौरेघाट, सीतापाइला घाट जस्ता सेती किनारका घाटमा शव दहन गर्ने गरिएको छ । राष्ट्रिय सम्पदा तथा जनाधिकार संरक्षण समिति नेपालका अध्यक्ष सुनिल पाण्डे ठूलो रकम खर्चेर बनाइएको आधुनिक शवदाह गृह चलाउन र हस्तान्तरणमा छ महिनासम्म ढिलाइ हुनु क्षम्य नभएको बताउनुहुन्छ । करोडौं खर्चेर बनेको आधुनिक शवदाह गृह सरकारी निकायबिचमै समन्वय नहुँदा छ महिना बन्द रहेको उहाँ भन्नुहुन्छ ।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...